बेइजिङ : कोरोना भाइरसको संक्रमण तीब्र रुपमा निरन्तर फैलिएपछि विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी संकटकाल’ घोषणा गरेको छ ।
चीनबट सुरु भएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय १८ देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो ।
चीनमा मात्रै शुक्रबारसम्म कोरोना भाइरसबाट दुई सय १३ जनाको मृत्यु भएको पुष्टि त्यहाँका अधिकारीहरुले गरिसकेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कमजोर मुलुकमा यो संक्रमण अझै फैलिनसक्ने सम्भावना बढेपछि संकटकाल घोषणा गरिएको हो ।
साथै यसको नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । छोटो अवधिमै कोरोना भाइरसको संक्रमण ९ हजार मानिसमा फैलिसकेको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन् । साथै एक लाख २ हजार मानिस प्रत्यक्ष स्वास्थ्य निगरानीमा छन् ।
जुन घटनालाई स्वास्थ्यकर्मीले विश्वव्यापी संकटको रुपमा लिएका छन् । यद्यपि यसको रोकथामका लागि चीनले अनेक उपाय गर्दैआएको छ । खोप निर्माणका लागि स्वास्थ्यकर्मी रातदिन जुटेका छन् भने अस्पताल निर्माण भइरहेको छ ।