मच्छिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो ।

मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गर्नुभयो । खेलको ३८औँ मिनेटमा रेजिनले गोल गर्नुभएको हो । पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल ग¥यो । मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गर्नुभएको हो ।

जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले हालसम्म नौ खेलमा छ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । यस्तै थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी लिगअन्तर्गत दशरथ रंगशालामै भएको अर्को खेलमा  पुलिसले एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे ।

खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् । रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे ।

लिगअन्तर्गत मङ्गलबारका खेलहरु अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments