काठमाडौं : प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन्। सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख सापकोटाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणसँगै सभामुख सापकोटाले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन्। सभामुख सापकोटाले भने, ‘काम अगाडि बढ्दै जाँदा तपाईँहरूले कति काम हुन्छ थाहा पाउनु हुनेछ।’
सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको समर्थकमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, राजपाका लक्ष्मणलाल कर्ण र पूर्व सभामुख ओनसरी घर्तीमगर रहेका थिए। बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई प्रतिनिधिसभाको सभामुख भएको घोषणा गरेका थिए।
झन्डै चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाएको हो। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल गएपछि सभामुख पद रिक्त थियो। सभामुख नपाउँदा प्रतिनिधिसभाको बैक पटक-पटक स्थगित हुँदै आएको थियो।