काठमाडौं : सरस्वती युथ क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसन जोनमै रहेको छ । लिगको सातौं चरणको खेल सक्दा जितविहीन बनेको सरस्वती आइतबार फ्रेन्ड्ससँग पराजित भएपछि थप दबाबमा देखिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४–१ गोलले हरायो । सरस्वतीमाथि लगातार गोलको अवसर बनाएको फ्रेन्ड्सको जितमा उत्तम राईले दुई गोल गरे । सउलो डे अक्विनो र वाग्नर डे कार्मोले एक÷एक गोल गरे । सरस्वतीका लागि काजिम एडेगोके बुसारीले सान्त्वना गोल फर्काएका थिए । फ्रेन्ड्सका उत्तम राई म्यान अफ दी म्याच घोषित भए ।
जितसँगै सात खेलबाट आठ अंक बनाएको फ्रेन्ड्स तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक बनाएको सरस्वती तालिकाको अन्तिममा छ । ६ खेलमा हार खेपेको सरस्वतीले एक खेल बराबरी खेलेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस पटकको लिगमा एउटा टोली मात्र रेलिगेसन (घटुवा) गर्ने प्रावधान राखेको छ ।
यसैगरी एन्फा कम्प्लेक्समा आइतबार नै भएको अर्को खेलमा एनआरटी क्लबले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा एनआरटीको जितमा आन्द्रे थेरीले २४औं मिनेटमा खाता खोलेका थिए ।
त्यसपछि एपीएफले ४१औं मिनेटमा बराबरी गोल फर्कायो । एपीएफका आशिष लामाले बराबरी गोल गरे । ५३औं मिनेटमा एपीएफले अग्रता लियो । एपीएफका लागि आशिषले व्यक्तिगत दोस्रो गोल थपे । रोचक खेलमा एनआरटीले ८०औं मिनेटमा आत्मघाती गोल सहयोगमा खेललाई बराबरीमा ल्यायो । बल बचाउने क्रममा एपीएफका वीरेन्द्रप्रकाश यादवको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ८५औं मिनेटमा दर्शन गुरुङले एकल प्रयासमा गोल गर्दै एनआरटीको जित पक्का बनाए । एनआरटीका एरिक विष्ट म्यान अफ दी म्याच भए ।
यस जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी पाँचौं स्थानमा उक्लिएको छ । पाँच अंक बनाएको एपीएफले रेलिगेसन मात्र छलेको छ । एपीएफ १३औं स्थानमा छ ।