काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली अस्ट्रियाको राजधानी भियनाको जस्तै बनाउने तयारी गरेको छ । नयाँ कानुन ल्याएर यातायात प्रणालीमा भियना मोडलको नक्कल गर्ने सरकारले तयारी गरेको छ ।
भियनाको यातायात पद्धति विश्वकै उत्कृष्ट नमूना मानिन्छ । पहिले भियनाको यातायात प्रणाली नेपालको जस्तै लथालिंग थियो । सरकारको निरन्तरको प्रयासपछि पछिल्लो समय विश्वकै उत्कृष्ट बनेको हो ।
भियना मोडल अनुकरण गरी ल्याइएको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि राष्ट्रिसभाको विधायन व्यवस्थापन समितिमा पुगेको छ । यो प्रस्तावित विधेयक पारित भएर कार्यान्वयनमा आए काठमाडौं उपत्यकामा अहिलेको सार्वजनिक यातायात प्रणाली खारेज हुनेछ । प्रणालीका सबै पक्ष व्यवस्थित भएकाले भियनाको यातायात प्रद्धति रोजिएको जनाइएको छ ।
विधेयकमा सार्वजनिक यातायात प्राधिकरणको रुपमा एउटा सल्लाहकार संस्था गठन हुने व्यवस्था छ । विधेयकको दफा ५ को २६ वटा बुँदामा प्राधिकरणको काम, कर्तव्य र अधिकारको व्याख्या गरिएको छ । सल्लाहकार संस्थाले यातायातसम्बन्धी सम्पूर्ण कुराको अध्ययन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनेछ ।
प्रस्तावित विधेयकअनुसार प्राधिकरणको सम्पूर्ण काम कारबाहीको सञ्चालन, रेखदेख र व्यवस्थापन काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद्ले गर्नेछ । परिषद्को अध्यक्षमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपाध्यक्ष ललितपुर महानगरपालिकाका प्रमुख रहने प्रावधान दफा ७ को उपदफा २ मा छ । यातायातसँग सम्बन्ध राख्ने विभिन्न निकायका एक÷एक जना प्रतिनिधिलाई परिषद्को सदस्य बनाउने व्यवस्थासमेत विधेयकमा छ ।
प्रस्तावित विधेयकले एकीकृत यातायात प्रणालीको अवधारणा अवलम्बन गरेको छ । यसको प्रमुख विशेषता विभिन्न रुटलाई ठेक्का लगाउनु हो । विधेयकको दफा ६ मा एकीकृत यातायात प्रणालीको प्रावधान छ । प्रावधानअनुसार प्राधिकरणले सहरमा विभिन्न रुट निर्धारण गर्नेछ र सार्वजनिक यातायात सञ्चालन गर्ने नीतिअनुसार कम्पनीहरूलाई ती रुट ठेक्कामा दिनेछ । उपत्यकामा इलेक्ट्रोनिक कार्डको माध्यमले गाडीभाडा दिने व्यवस्था गर्ने र त्यो भाडा सीधै प्राधिकरणको कोषमा जम्मा हुने परिकल्पना गरिएको छ ।