टोकियो : ‘मानिसको आत्मविश्वाु र दृढतालाई उमेरले छेक्दैन’ भन्ने उखानलाई यथार्थमा परिणत गरेका छन्, जापानी फुटबलर काजुयोसी मिउराले । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर मिउरा अर्को महिना ५३औं वर्षमा प्रवेश गर्दैछन्। त्यसअघि नै मंगलबार जापानी लिग (जे लिग) क्लब योकोहामा एफसीले उनको सम्झौता नवीकरण गरेको छ। मिउरा व्यावसायिक फुटबल खेल्ने विश्वकै सबैभन्दा पाका खेलाडी हुन्। उनी ३५ वर्षदेखि निरन्तर फुटबल मैदानमा सक्रिय छन्।
‘किङ काजु’को उपनामले चर्चित मिउराले ढल्कँदो उमेरका कारण अब व्यावसायिक फुटबलबाट सन्न्यास लिने अनुमान गरिएको थियो। तर, यसको विपरीत योकोहामा क्लबसँग सम्झौता नवीकरण गरेर उनले धेरैलाई चकित पारेका छन्। उनले ६० वर्ष उमेर नपुगुन्जेल आफू व्यावसायिक फुटबलमा सक्रिय रहने बताएका छन्। ‘अहिले नै सन्न्यास लिनु अलि हतार हुनेछ। मैले ६० वर्ष नपुगेसम्म व्यावसायिक फुटबलमा सक्रिय रहने योजना बनाएको छु’, मिउरा भन्छन्।
मिउराले सन् २००५ देखि याकोहामाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। गत सिजन उनले योकोहामाका लागि तीन खेल मात्र खेलेका थिए। तर, उनले गोल भने गर्न सकेनन्। ‘म अझै फुटबलमा रमाएकै छु। आगामी दिनमा क्लबलाई अझ माथि उठाउनु मेरो एकमात्र लक्ष्य हो’, मिउरा भन्छन्।
मिउराले सन् २०१७ मा व्यावसायिक लिग फुटबल खेल्ने विश्वकै सबैभन्दा पाका खेलाडीको कीर्तिमान आफ्नो नाममा पारेका थिए। उनी विश्व व्यावसायिक लिग फुटबलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि हुन्। यी दुवै कीर्तिमान त्यसअघि इङ्ल्यान्डका पूर्वखेलाडी स्टानली म्याथ्युजको नाममा थियो।
मिउरासँगै खेल्न सुरु गरेका विश्व फुटबलका हस्ती यति बेला सक्रिय खेलजीवनबाट सन्न्यास लिएर अवकाशप्राप्त जीवन बिताउँदै छन्। विश्व व्यावसायिक फुटबलमा नाम र दाम कमाएका अधिकांश खेलाडी ४० वर्ष पुग्नुअगावै सक्रिय खेल जीवनबाट सन्न्यास लिन्छन्। फुटबल मैदानमा बोकेको चोट वा विभिन्न स्वास्थ्य समस्याका कारण खेलाडीको व्यावसायिक खेलजीवन ४० वर्षसम्म टिक्नु ठूलो उपलब्धि मानिन्छ।
तर, सन् १९८६ मा पहिलो पटक व्यावसायिक लिग खेल्दा उनको जोश र जाँगर जस्तो थियो, अहिले पनि त्यसमा कुनै कमी आएको छैन। मिउरा र आफ्नो समयका चर्चित इटालियन फुटबलर रोबर्टो बाजियो एकै वर्ष र एकै महिना जन्मिएका हुन्। यी दुवै खेलाडीले आफ्नो खेलजीवन पनि करिब करिब एउटै समयमा सुरु गरेका थिए। तर, बाजियोले सन् २००४ मै खेलजीवनबाट बिदा लिइसकेका छन्।
सन् १९८२ मा केवल १५ वर्षको उमेरमा मिउरा फुटबलमा भविष्य खोज्न जापान छाडेर ब्राजिलतर्फ हानिएका थिए। ब्राजिलमा निकै परि श्रम गरेपछि उनले चर्चित क्लब सान्तोषमा आबद्घ हुने अवसर पाए। त्यसपछि सन् १९८६ मा केवल १९ वर्षको उमेरमा मिउराले सान्तोषबाट पहिलो व्यावसायिक लिग खेल्ने अवसर पाएका थिए। सन् १९८६ मै मिउराले सान्तोष छाड्ने निर्णय लिए र उनी अर्को ब्राजिलियन क्लब पाल्मिरसमा आबद्घ भए।
आफ्नो समयका चर्चित ब्राजिलियन खेलाडी मिरान्डिन्हा पनि त्यति बेला मिउरासँगै पाल्मिरसबाट व्यावसायिक फुटबल खेल्थे। सन् १९८७ मा मिरान्डिन्हा इङ्लिस क्लबबाट व्यावसायिक फुटबल खेल्ने पहिलो ब्राजिलियन खेलाडी पनि बनेका थिए। मिरान्डिन्हालाई त्यति बेला इङ्लिस क्लब न्युक्यासल युनाइटेडले पाँच लाख ७५ हजार पाउन्डमा आबद्घ गरेको थियो।
सन् १९९३ मा पहिलो पटक जापानी लिग सुरु भएको थियो। मिउरा पहिलो पटक आयोजित जापानी लिगमै सर्वाधिक गोलकर्ता बनेका थिए। उनको क्लब भर्डी कावासाकी च्याम्पियन पनि बनेको थियो। त्यति बेला चर्चित इङ्लिस फुटबलर गेरी लिनेकर र ब्राजिलियन खेलाडी जिकोले पनि मिउरासँगै जापानी लिग खेलेका थिए।
मिउराले सन् १९९३ मै ‘एसियन प्लेयर अफ दी इयर अवार्ड’ पनि पाएका थिए। यो अवार्ड पाउने उनी पहिलो जापानी खेलाडी हुन्। मिउरा सन् १९९० देखि सन् २००० सम्म जापानी राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्य पनि थिए। त्यसबीचमा उनले राष्ट्रका लागि ८९ खेल खेल्दै ५५ गोलसमेत गरेका थिए।
जापानलाई पहिलो पटक सन् १९९८ को विश्वकप फुटबलमा छनोट गराउन पनि मिउराको निकै ठूलो योगदान थियो। त्यति बेला छनोट चरणको खेलमा मिउराले १४ गोल गरेका थिए। तर, अन्तिम समयमा आएर उनले विश्वकप खेल्ने अवसर भने पाएनन्। उनले युरोपमा इटालियन क्लब जेनोआ र क्रोएसियाको डाइनामो जाग्रेबबाट पनि व्यावसायिक फुटबल खेले। सन् १९९९ मा डाइनामो जाग्रेबलाई क्रोएसियन लिगको उपाधि चुमाउन पनि मिउराको महत्त्वपूर्ण भूमिका थियो। सन् २००५ मा ३८ वर्षको उमेरमा योकोहामामा आबद्घ भएपछि उनले केही समय ऋणमा अस्ट्रेलियन क्लब सिड्नी एफसीबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।