काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार थ्रीस्टार क्लबलाई फ्रेन्ड्स क्लबको नराम्रो धक्का लागेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टार फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो । ललितपुर डर्बी भिडन्तमा थ्रीस्टारले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाए पनि सदुपयोग गर्न सकेन । यस हारले थ्रीस्टारको उपाधि यात्रालाई केही कमजोर बनाएको छ । फ्रेन्ड्सलाई जिताउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गोल गरे । कार्मेले १३औं मिनेटमा गरेको गोल नै फ्रेन्ड्सको जितमा निर्णायक बनेको थियो । म्यान अफ दी म्याच भएका उनले १० हजार रुपैयाँ पुरस्कार पाए । थ्रीस्टारले लगातार गोलको अवसर बनाए पनि सफल हुन सकेन ।
लिगमा फ्रेन्ड्सको यो पहिलो जित हो । ६ खेलबाट १० अंक बनाएको थ्रीस्टार चौथो स्थानमा छ । पहिलो जितसँगै ६ खेलबाट पाँच अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ । यसैगरी दशरथ रंगशालामै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज र सरस्वती युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लगातार हार खेप्दै आएको सरस्वतीले ब्रिगेडविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।
ब्रिगेडको तुलनामा गोल गर्ने राम्रा अवगसर बनाए पनि सरस्वती सफल हुन सकेन । पाखा खेलाडी अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेडले भने गोल गर्न लायक अवसर खासै बनाउन सकेको थिएन । सरस्वतीका मनिष थापा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा ६ खेल सकेको सरस्वतीले पहिलो अंकको खाता खोलेको छ । एक अंक बनाएको सरस्वती अन्तिममा छ । समान खेलबाट ब्रिगेडले सात अंक बनाएको ब्रिगेड आठौं स्थानमा छ ।