काठमाडौं : चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नैकापमा रहेको तपाई हाम्रो बहुउद्देयीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदनलगायत विभिन्न प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाढ्ने राखेको प्रस्ताव साधारणासभाले पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्ममा संस्थाको सदस्य चार हजार आठ सय ११ रहेको छ । सोही अवधिसम्ममा संस्थाको चुक्ता पुँजी ५ करोड १४ लाख रहेको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले साधारणा सभामा जानकारी गराए । यस्तै ४१ करोड ४१ लाख निक्षेप संकलन गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष थापा मगरले जानकारी दिए ।
संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आइपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्षले जानकारी दिए ।
संस्थाले केन्द्रीय कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
यस सहकारीले चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापमा कृषि फार्म समेत सञ्चालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापा, पूर्व सभासद विनोद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।