काठमाडौं : बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका छन् ।
राजकुमार ह्यारी र मेगनले एक बयान जारी गरेर अब उत्तरी अमेरिमा र ब्रिटेनमा आफ्नो समय बिताउने बताएका छन् ।
बीबीसीका अनुसार उनीहरूले उक्त निर्णय लिनुअघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह लिएका थिएनन् । उनीहरुको यो निर्णयले शाही परिवार निराश भएको बताइएको छ । यो घटनाले राजपरिवारका वरिष्ठ सदस्यहरूलाई दु:खी बनाएको छ ।
बुधबार अप्रत्याशित रुपमा उनीहरूले राजदरबारबाट अलग्गिने निर्णय गरेको कुरा आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए । धेरै महिना विचार विमर्श गरेर उनीहरू उक्त फैसलामा पुगेको दुबैले बताएका छन् । उनीहरुले अब ब्रिटेन र उत्तरी अमेरिका दुबै ठाउँमा बस्ने बताए ।
बीबीसीका शाही संवाददाता जोनी डायमंडका अनुसार राजकुमार ह्यारीले उनकी आमाबाट विरासतमा धेरै पैसा पाएका थिए, मेगनले पनि कलाकारिताबाट टन्नै पैसा कमाएर राखेकी छिन् ।
शाही सिंहासनमा राजकुमार ह्यारी छैठौं स्थानमा छन् । उनीभन्दा अगाडि राजकुमार चाल्र्स, राजकुमार विलियम र उनका तीन बच्चा रहेका छन् ।