उपाधि होडमा आर्मी

काठमाडौं : त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएका खेलमा विभागीय टोली आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । आर्मीको जितमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे ।
जर्जप्रिन्सले ३०औं मिनेटमा गोल गरेका थिए । जर्जप्रिन्सको सोही गोल आर्मीको जितमा पर्याप्त बन्यो । पहिलो हाफमा केही राम्रा अवसर बनाए पनि सरस्वतीले गोल गर्न सकेन । आर्मीले दोस्रो हाफमा थप अवसर गुमाउँदा एउटै गोलमा चित्त बुझायो । आर्मीका विकास खवास म्यान अफ दी म्याच घोषित भए । विकासले १० हजार रुपैयाँ पुरस्कार पाए ।
आर्मीले पाँच खेलबाट १२ अंक बनाएको छ । आर्मीको जितले लिगको उपाधि होड रोचक बनेको छ । पाँचौं चरणको समाप्तिसँगै लिगको दोस्रो स्थानमा आसीन साविक विजेता मनाङ मस्र्याङ्दी क्लबको ११ अंक छ । तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १० अंक छ ।
यसैगरी दशरथ रंगशालामै भएको अर्को खेलमा संकटा क्लबले विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित हात पारेको छ । संकटाले एपीएफ क्लबलाई ४–२ गोलले हरायो । संकटाको जितमा अफ्रिकी खेलाडी अजयी मार्टिनले दुई गोल गरे । लक्ष्मण रुचाल र कर्ण लिम्बूले एक÷एक गोल गरेका थिए । एपीएफका नवीन लामा र आशिष लामाले एक÷एक गोल फर्काए । लक्ष्मण रुचालले १९औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
त्यसपछि कर्ण लिम्बूले ४४औं मिनेटमा दोस्रो गोल गरे । अजयीले ५३औं र ८८औं मिनेटमा गोल गरेका थिए । संकटाको तुलनामा केही कमजोर देखिएको एपीएफका लागि नवीन लामाले ५६औं र आशिष लामाले ७२औं मिनेटमा गोल फर्काए । जारी लिगमा संकटाको यो दोस्रो जित हो । जितसँगै पाँच खेलबाट सात अंक बनाएको संकटा सातौं स्थानमा छ । चार अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments