काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले चार खेलमा ८ अङ्क जोडेको छ ।
जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक–एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । त्यसअघि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो ।
खेलको ८०औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसको दुई मिनेटपछि विजय घलानले एक गोल गर्दै जावलाखेललाई २–० को जीत दिलाए । पराजित च्यासलले चार खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।
यसैगरी मंगलबार नै भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमायन शेर्पा क्लबलाई १–० गोलले स्तब्ध बनायो । लिगमा सयौं खेल खेलेको ब्रिगेडले नतिजामा पनि सुखद अनुभव बटुल्यो । ब्रिगेड २०६१ सालमा ‘बी’ डिभिजन बाट ‘ए’ मा बढुवा भएको थियो । एन्फा मैदानमा ब्रिगेडलाई जिताउन विजय गुरुङले गोल गरे । विजयले १७औं मिनेटमा गरेको गोल नै ब्रिगेडको जितमा पर्याप्त बनेको थियो । विजयले डीबक्स बाहिरबाट हानेको सशक्त प्रहार हिमालयन शेर्पाका रक्षकलाई ठोकिएर गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा ब्रिगेड र शेर्पा दुवैले गोलको अवसर गुमाएका थिए । खेलको अन्तिममा शेर्पा १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा शेर्पाका निरज बस्नेत दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । ब्रिगेडका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । शेर्पामाथिको जितसँगै ब्रिगेडले चार खेलबाट ६ अंक बनाएको छ । ब्रिगेड छैटौं स्थानमा छ । समान खेलबाट दुई अंक बनाएको शेर्पा ११ औं स्थानमा छ ।