काठमाडौं : थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले एपीएफ क्लबलाई १–० गोलले हरायो । थ्रीस्टारको कठिन जितमा रक्षक अनन्त तामाङ नायक बने । अनन्तले १५औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।
मिक्छेन तामाङको लामो फ्रिकिक पासमा अनन्तले उत्कृष्ट गोल गरेका थिए । सोही गोल नै थ्रीस्टारका लागि पर्याप्त बन्यो ।
थ्रीस्टारको जितमा निर्णायक गोल गरेका अनन्त म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
जितसँगै थ्र्रीस्टारले तीन खेलबाट सात अंक बनाएको छ । थ्रीस्टार पहिलो खेलमा जाउलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १–० गोलले हराएको थियो । शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको समान खेलबाट नौ अंक छ । ६ अंकसहित मच्छिन्द्र तेस्रो स्थानमा छ । दोस्रो हार खेपेको एपीएफको एक अंक छ । पहिलो खेलमा मनाङसँग २–० गोलले पराजित भएको एपीएफले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
Previous Article