काठमाडौं : मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि जगजित निर्णायक श्रेष्ठले गोल गरे । जगजितले अफ्रिकी खेलाडी भिडाल लुइसको पासमा वान टच जाली चुमाएका थिए । मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जारी लिगमा मनाङको लगातार तेस्रो जित हो । शीर्ष स्थानमा रहेको मनाङले जितसँगै नौ अंक बनाएको छ । दुई हार र एक खेलमा जित निकालेको ब्रिगेडको तीन अंक छ ।
यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा साबिक उपविजेता संकटा र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोचक खेलमा सुरुआती अग्रता संकटाले लिएको थियो । संकटाका लागि लक्ष्मण रुचालले सुरुआती गोल गरे । रुचालले ३६औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । रुचालको करिब २५ यार्ड लामो प्रहारले पोस्ट नजिक रहेका जाउलाखेलका रक्षक र गोलरक्षकलाई छल्दै गोलमा परिणत भएको थियो । पहिलो हाफमा केही दबाबमा देखिएको जाउलाखेलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । जाउलाखेलका ड्याडी जुनियर बाम्बाले ७२औं मिनेटमा उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्याए । ड्याडीले हरि कठायतको लामो फ्रिकक बलमा गोल गरेका थिए । संकटाका अर्जेस्ट टाम्पी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै जाउलाखेलले तीन खेलबाट पाँच अंक बनाएको छ । संकटाको समान खेलबाट चार अंक पुगेको छ ।
Previous Article
बैंकिङ काममा बाधा नपु¥याउँनु
Next Article