काठमाडौँ : दुई बुँदे सहमति तोडेको आरोप लगाउँदै समाजवादी पार्टी सरकारबाट अलग भएको छ । पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मव इस्तियाक राईले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् ।
संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि सरकार छाड्ने निर्णय गरेको समाजवादी पार्टीले जनाएको छ ।
संविधान संशोधन र आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरु सम्बोधन गर्ने शर्तसहित दुई बुँदे सहमतिका आधारमा मात्र सरकारमा सामेल भएको तर संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्तावलाई अस्वीकार गरी दुई बुँदे सहमतिबाट सरकार पछि हटेकोले नैतिकताका आधारमा राजीनामा दिएको व्यहारो यादवले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ । उनले सरकारले एकलौटी रुपमा सहमति तोडेको पनि पत्रमा उल्लेख गरेका छन् ।