काठमाडौं : करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका छन् ।
ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा तेक्वान्दोकी स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका निकेश मगर र विनोद महर्जनलाई सम्मान गरेका हुन् ।
हाल दक्षिण कोरियामा बस्दै आएका पूर्वखेलाडी आरकेले स्वर्ण विजेता संगीता र विनोदलाई नगद २५ हजार रुपैयाँबाट सम्मान गरे ।
आरकेका धर्मपत्नी शारदा प्रजापति र आइकेकेएफ कराते संघका उपाध्यक्ष राजीव महर्जनलगायतले खेलाडीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रजापतिले १३औं सागमा पदक विजेतालाई नगद प्रदान गरेकी थिइन् । सोही अवसरमा निकेशलाई रोयल स्पोर्ट्स एकेडेमीले नगद आठ हजार रुपैयाँसहित सम्मान गरेको थियो । तेक्वान्दोकी संगीताले ग्यारोगीको ६२ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
निकेशले १३औं सागमा बास्केटबलको थ्री बाई थ्रीमा रजत दिलाएका थिए भने विनोदले फुल कोर्टमा कांस्य पदक जितेका थिए ।
आरकेले पूर्वखेलाडी भएकाले देशका लागि सदैव पसिना बगाउने खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । आरकेले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि नेपाली खेलाडीलाई सहयोग गर्नुका साथै पदक विजेतालाई सम्मान पनि गर्दै आएका छन् ।
Previous Article
मोटरसाइकल चोरी गर्ने ११ पक्राउ
Next Article