काठमाडौं : एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० गोलले हरायो । एनआरटीको जितमा सरोज तामाङले दुई तथा विदेशी खेलाडी जुनियर निकेनग्ये र जोर्डन एनडेम्बाले एकएक गोल गरे ।
पहिलो हाफमा एक गोल गरेको एनआरटीका लागि ४०औं मिनेटमा जुनियरले खाता खोलेका थिए । त्यसपछि सरोज तामाङले ६९औं र ८१औं मिनेटमा दुई गोल गरेका थिए । जोर्डनले ९०औं मिनेटमा गोल गर्दै एनआरटीलाई फराकिलो जित दिलाए । पहिलो हाफमा औसत प्रदर्शन गरेको सरस्वतीले दोस्रो हाफमा भने लय गुमाएको थियो । पहिलो हाफमा सरस्वतीले तीनवटा उत्कृष्ट अवसर गुमाएको थियो । दुई गोल गरेका सरोज म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरुस्कार पाए ।
एनआरटीले सरस्वतीसँग अघिल्लो लिगमा खेपेको हारको बदलासमेत लिएको छ । गत वर्ष एनआरटी सरस्वतीसँग २–१ गोलले पराजित भएको थियो । जितसँगै एनआरटीले तीन अंक बनाएको छ । तर एनआरटीको लागि यसमा एक अंक मात्र पाउनेछ । अघिल्लो सिजन लिगको अन्तिममा परेकोले एनआरटीको दुई अंक घटुवा हुनेछ ।
यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोलीको नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिसले लगातार मौका बनाए पनि गोल गर्न सकेन । अनुभवी पुलिसविरुद्ध रक्षात्मक रणनीति अपनाएको हिमालयन शेर्पा आफ्नो रणनीतिमा सफल भयो । शेर्पाका आशिष गुरुङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।