विश्वप्रशिद्ध खेल सामग्री उत्पादक एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले थ्री स्टार क्लबलाई सहप्रायोजकका रूपमा सघाउने भएको छ।
सोमबार एक समारोहबीच एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। क्लबका तर्फबाट अध्यक्ष अरुणमान जोशी तथा रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सहप्रायोजन सम्झौताअनुसार रुट्स फेसनले थ्री स्टारलाई जर्सी सेट, मोजा, ट्र्याकसुट, फुटबल बुट, फुटबल, ब्याग, बिब्स, अभ्यास जर्सी, गोलकिपर ग्लोब्स, स्पोर्टस सुज र टिसर्ट गरी २५ लाख रुपैयाँभन्दा बढीको खेल सामग्री उपलब्ध गराउनेछ।
रुट्स फेसनले यसअघि थ्री स्टारलाई सन् २००५ मा पनि सहप्रायोजन गरेको थियो। रुट्स फेसनका प्रबन्ध निर्देशक तुलाधरले थ्री स्टारसँगको पुरानो सम्बन्धका कारण यो सहकार्य गरेको बताए। उनले थ्री स्टारको मुख्य प्रायोजक रुस्लानसँग पनि आफ्नो राम्रो व्यावसायिक सम्बन्धका कारण यो सहप्रायोजन गर्न थप सहज भएको उनको भनाइ थियो।
‘सबभन्दा पहिला थ्री स्टारलाई हामीले सहयोग गरेको हो। फेरि सहप्रायोजकका रूपमा फर्किन पाउँदा खुसी लागेको छ,’ तुलाधरले भने, ‘भविश्यमा पनि थ्री स्टारसँगको सहकार्यलाई हामी निरन्तरता दिनेछौं। आउँदो लिगमा राम्रो नतिजाका लागि म क्लबलाई शुभकामना दिन चाहन्छु।’
क्लबका अध्यक्ष जोशीले सहप्रायोजकका रूपमा फर्किएको रुट्स फेसन प्रालिलाई स्वागत गर्दै धन्यवाद दिए। क्लबले लिगका लागि तयारी सुरु गरिसकेको जानकारी गराउँदै अध्यक्ष जोशीले सुखद् नतिजा ल्याएर प्रायोजकहरूलाई निराश नपार्ने प्रतिबद्धता जनाए।
थ्री स्टारले बिहीबार ललितपुरे प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबसँग खेल्दै लिगको नयाँ सिजनको सुरुआत गर्नेछ। थ्री स्टारले यसअघि २०५४, २०६१ र २०६९ मा गरी तीन पटक ए डिभिजन लिग तथा २०७२ मा राष्ट्रिय लिग जितेको थियो।
सम्झौता कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको व्यावसायीकीकरणमा प्रायोजकको भूमिका महत्त्वपूर्ण हुने बताए। ‘आर्थिक रूपमा क्लब बलियो नभइ लिग बलियो हुँदैन। लिग बलियो भयो भनेमात्र नेपाली फुटबल माथि उठ्छ। त्यसका लागि नियमित लिग हुनुपर्छ,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका अध्यक्ष शेर्पाले भने, ‘हामीले दोस्रो वर्ष लगातार लिग गर्न लागेका छौं। अब आगामी वर्षहरूमा लिगको अवधि बढाएर ६ वा ८ महिना लामो बनाउने योजनामा छौं।’ शेर्पाले थ्री स्टार क्लबलाई लिगमा पहिलो स्थानका लागि शुभकामनासमेत दिए।