जनकपुरधाम : भारतको अयोध्याबाट जनकपुरधाम आएका ‘भगवान रामका जन्ती’लाई नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरिन् । हिन्दू परम्परा अनुसार सीता-राम विवाह पञ्चमीलाई हरेक वर्ष रामजानकी विवाह महामहोत्सवको रुपमा मनाइन्छ ।
सोही महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी अतिथिको रुपमा जनकपुर पुगेकी हुन् । हिन्दू विश्वास अनुसार त्रेतायुगका भगवान् रामको विवाह सीतासँग भएको थियो । सीता अहिलेको जनकपुरस्थित जनककी छोरी भएको विश्वास रहँदैआएको छ ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यबाट विवाह पञ्चमीमा जनकपुरधाम आएका जन्तीलाई राष्ट्रपति भण्डारीले बाह्रविघा रङ्गभूमि मैदानमा स्वागत गरेकी थिइन् ।
उनले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्त रामेश्वर दासजी महाराज, दशरथको भूमिकामा रहेका कन्हैया दास, साध्वी राधा देवी, साध्वी निलम देवी लगायत जन्तीलाई सम्मान गरेकी थिइन् ।
सीताराम विवाह महामहोत्सवमा लावालस्कर सहित आएको जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी काठमाडौंबाट सेनाको हेलिकप्टर चढेर जनकपुरधाम आएकी हुन् ।
जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेपछि उनी जन्तीको स्वागत गर्न रंगभूमी मैदानमा पुगेकी थिइन् ।
मंसिर १५ गते हुने विवाह पञ्चमीको लागि जानकी मन्दिरलाई बेहुली झैं सिंगारिएको छ । महोत्सव अन्तर्गत १४ गते मटकोर, १५ गते स्वयम्वर र शुभ विवाहको कार्यक्रम छ । मंसिर १६ गते राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुनेछ ।