काठमाडौं : यही शनिबार हुन लागेको उपनिर्वाचनमा एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने भएको छ । ०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक गराउँदा चार फरकफरक मतपत्र प्रयोग गरिएकोमा यस पटक एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने निर्वाचन आयोगले जनाएको छ । त्यतिबेला प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष), प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा (प्रत्यक्ष) र प्रदेशसभा समानुपातिक गरि चार मतपत्र थिए। यसबाट मतदाता अलमलिएका थिए ।
शनिबार हुने उपचुनावमा समानुपातिक मतपत्र छैन । प्रतिनिधिसभा सदस्यका लागि चुनाव हुने क्षेत्रमा प्रदेशसभा र स्थानीय तहका प्रतिनिधिका लागि चुनाव नभएका कारण एउटा मात्र मतपत्र प्रयोग गर्न लागिएको हो । धरान उपमहानगरपालिकाको वडा नम्बर ७ का मतदाताले भने एउटै मतपत्रमा दुई प्रतिनिधिका लागि मत दिनुपर्नेछ । निर्वाचन आयोगका अनुसार त्यस क्षेत्रका मतदाताले एउटा मत मेयरका लागि र अर्को वडा नम्बर ७ को अध्यक्षका लागि मत दिनुपर्नेछ ।
आयोग प्रवक्ता नरेन्द्र दाहालका अनुसार धरानको उपचुनावमा एउटा मात्र मतपत्र रहेकाले मतदान सहज र छिटो हुनेछ । अन्य क्षेत्रका मतदाताले भने एक जना मात्र उम्मेदवारका लागि मत दिए पुग्ने उनले बताए । कास्की क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर क्षेत्र १ (क), बागलुङ क्षेत्र २ (ख) र दाङको क्षेत्र ३ (ख) ३ जना प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । स्थानीय तह अन्र्तगत धरान उपमहानगरपालिका प्रमुख, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र विभिन्न गाउँपालिका तथा नगरपालिकाका ४३ वडा अध्यक्षका लागि उपचुनाव हँुदैछ। ३७ जिल्लाका ५२ पदका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
बुधबार राति १२ बजेबाट मौन अवधि सुरु भएकाले आयोगले आचारसंहिता पालनाका लागि सबैसँग आग्रह गरेको छ । आयोगले मौन अवधिमा वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न र चुनाव प्रचारप्रसार गर्न निषेध गरेको छ ।
Previous Article
भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
Next Article