१३औं दक्षिण एसियाली खेलकुदको मुख्य आकर्षणको केन्द्र बनेको दशरथ रंगशालामा छानो राख्ने काम सुरु भएको छ । साधारण प्यारापिटको निर्माण, मैदान, सिन्थेटिक ट्र्याक र स्कोर बोर्डको निर्माण कार्यले लगभग पूर्णता पाएको छ । अहिले मुख्य चासोको रूपमा रहेको भीआईपी प्यारापिटको छाना हाल्ने काम बुधबारबाट सुरु भएको छ । भीआईपी प्यारापिटले सागको उद्घाटन हुने दिन मंसिर १५ गतेसम्म पूर्णता पाउला वा नपाउला भन्ने चासो तीव्र छ ।
युवा तथा खेलकुद मन्त्री एवं साग आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले सागका लागि भीआईपी प्यारापिट निर्माणले पूर्णता पाउने दाबी गरिरहेका छन् । राखेपको भौतिक संरचना विभागले पनि भीआईपी प्यारापिटको छाना हालिसकिने जनाएको छ । एक साताअघि चीनबाट चार्टर्ड विमानमा ल्याइएको छाना हाल्न चिनियाँ प्राविधिक नै नेपाल आएका छन् । चिनियाँ प्राविधिकलाई एक सय जना कामदारले सघाएका छन् ।
२०७२ सालको भूकम्पका कारण क्षति पुगेको भीआईपी प्यारापिटको रड्रो फिटिङसहित पुरानो ढलानको छाना हटाएर नयाँ छाना हाल्न लागिएको हो । भीआईपी प्यारापिटको छाना हाल्ने काम एक सातामा सकिने बताइएको छ । भीआईपी प्यारापिटमा साउन्ड सिस्टम जडान गर्ने काम भने सागपछि गरिनेछ । यसैगरी दशरथ रंगशाला परिसरमा भएका अन्य संरचनाको सिंगार र रंगरोगन गरिने काम पनि धमाधम भइरहेको छ ।
सडक निर्माण र कालोपत्रे गर्ने कामले पनि सँगसँगै प्राथमिकता पाएको छ । राखेपले उपत्यकाको अर्को साग आयोजनास्थल ललितपुरको अन्तर्राष्ट्रिय खेल परिसरको संरचना निर्माण पनि सकिएको जनाएको छ । निर्माणाधीन हिटिङ सिस्टमको पौडी पोखरीको निर्माणकार्य पनि एक सातामा सकिनेछ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले हिटिङ पौडी पोखरीमा पहिला नेपाली खेलाडीलाई तयारी खेल खेलाएर मात्र सागको खेल खेलाइने बताएका छन् ।
Previous Article
लभ यु हमेशाको गीत सार्वजनिक
Next Article