लभ यु हमेशाको गीत सार्वजनिक

काठमाडौं : प्रेम कथानक फिल्म ‘लभ यु हमेशा’ मा समावेश यो हावा किन चल्छ बोलको गीत बुधबार सार्वजनिक गरिएको छ। मंसिर १३ बाट प्रदर्शनमा आउने फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन्।

भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन्। भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुद्री तटमा खिचिएको हो। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत प्रेमभावले प्रेरित छ।

कात्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने विश्वास निर्माता यवनले व्यक्त गरे। प्रेसमिटमा अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए। कार्यक्रममा उनले सुटिङका क्रममा विविध रमाइला पल सुनाएका थिए। अभिनेत्री ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन्। उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्म निकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुसी लागेको बताइन्।

फिल्मका वितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’ प्रेम मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए। उनले आफूहरूले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागि परेको सुनाए। शिव ढकालले खिचेको फिल्ममा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिशिर राणा, करुणा श्रेष्ठ, नीराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन्।

भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका विभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ। मिलन गुरुङ सहनिर्माता रहेको फिल्म मंसिर १३ मा देशभरका हलका साथै भारतका केही थप हलमा प्रदर्शन हुने जानकारी निर्माता यवनले दिएका छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments