किन कुहिरोको काग बन्यो कांग्रेस ?

माथवरसिंह बस्नेत

  • माथवरसिंह बस्नेत

नेपाली कांग्रेस, प्रजातान्त्रिक आन्दोलनको उपज त अवश्य हो तर पार्टीचाहिँ बनिसकेको छैन भन्ने तथ्यको पुष्टि फेरि भयो– सीके राउतसंग सरकारले गरेको सम्झौताको समर्थन र विप्लवमाथि प्रतिवन्धको स्वागतलगत्तैको विरोधबाट । ती दुवै घटना, हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने भयानक रोगबाट कांग्रेस अझै मुक्त हुन नसकेको प्रमाण हुन् । अनि हुन्, प्रतिक्रियावादी हुनुका ज्वलन्त उदाहरण पनि । विज्ञान र राजनीतिक भाषामा अर्काले गरेको क्रियाप्रति प्रतिक्रिया मात्र दिने, आफ्नो मौलिक विचार र दृष्टिकोण हुँदैनभएको तत्वलाई प्रतिक्रियावादी भन्छन् । त्यो परिभाषाको कसीमा घोट्दा कांग्रेसका अभिव्यक्तिबाट जे निक्लन्छ, त्यो त्यही हो– प्रतिक्रियावादीको झर्रोपन ।

कांग्रेसले दुवै घटनामा प्रतिक्रिया व्यक्त गर्न हतारिनु पर्ने खाँचो पटक्कै थिएन । सीके राउतसंग समझौता गर्नुअघि, त्यसलाई राष्ट्रिय महत्वको घटना ठानेर सरकारले प्रमुख विरोधी दल– कांग्रेससंग सल्लाह र सुझाव लिने आवश्यकता नदेख्नु भनेको राजनीतिक अर्थ र परिभाषामा आफू एक्लैले त्यसको जश अथवा अपजश व्यहोर्न तयार हुनुको द्योतक थियो । अर्को शब्दमा सम्झौता गर्ने दुवै पक्षले हाकाहाकि कांग्रेसको समर्थन र सहयोगको घोर उपेक्षा गरेका थिए । ती दुवैले कांग्रेसको परामर्श र सुझावको खाँचोबोध किन गरेनन् भन्ने विषयको राम्रो अध्ययन नगरि हतारमा प्रतिक्रिया दिनु, त्यो पनि सकारात्मक भनेर प्रशंसा गरेर, त्यो विरोधी दलका रुपमा कांग्रेसको सच्चिनै नसक्ने अक्षम्य गल्ती थियो । त्यो घटनाको एक साता नबित्दै आफ्नै प्रतिक्रियाविरुद्ध त्यसप्रति शंका र अविश्वास प्रकट गर्नु लज्जास्पद तथा मूर्खता प्रदर्शनको पराकाष्टा थियो ।
कांग्रेसजस्तो पुरानो, ठूलो र जिम्मेदार पार्टीका नेता र प्रवक्ताले पृथकतावादी एजेण्डा बोकेको स्वतन्त्र मधेसवादी पार्टीसंग कम्युनिष्ट सरकारले त्यस्तो सम्झौता यत्तिखेर किन गर्नुप¥यो ? त्यसका पछाडिको श्रोत र शक्ति कुन हो ? अहिले न चुनाव छ, न स्वतन्त्र मधेसको नेतृत्वको आन्दोलनले जोड पक्रेको छ, त्यस्तो शिथिल अवस्थामा जेलमा रहेका सीके राउतलाई रिहा गरेर सम्झौता गर्नुपर्ने कारण कताबाट कसरी उत्पन्न भयो ? त्यसको शुक्ष्म अध्ययन गर्ने संयन्त्र र सुसंगत पद्धति भएको भए, त्यसमा संलग्न ज्ञाता अथवा विशेषज्ञहरुसंगको सल्लाह र छलफलपछि प्रतिक्रिया दिन सकिन्थ्यो । भनिरहन परोइन, त्यसो भएको भए त्यस्तो प्रतिक्रिया, पक्कै पनि विषयवस्तुमा आधारित हुन्थ्यो र ठाउँमा पथ्र्यो । कमसेकम प्रवक्ताले त्यस्ता विषयमा पार्टीको सैद्धान्तिक मान्यता, परम्परा र दृष्टिकोणमाथि विशेषज्ञहरु उपलब्ध छैनन् भने पनि जानकार व्यक्तिहरुको राय र सुझावसहित नेतृत्वको विचारसमेत समेटेर आधिकारिक धारणा राखिदिएको भए घोडेजात्रा हेर्ने उत्सुकता पालेर बसेका नेपालीले बेला न कुबेला गाइजात्रा हेर्न वाध्य हुनुपर्ने थिएन ।
सीके राउतको स्वतन्त्र मधेस पार्टी, किन विखण्डनकारीमा परिणत भएको थियो र त्यसका पछाडि कुन कुन शक्तिले उसलाई समर्थन र सहयोग गरेका थिए र अहिले सम्झौता गर्न कसले दबाब सिर्जना गरे भन्ने बारेमा खोजखबर नै नगरि अचानक सरकारले नाटकीय ढंगले सम्झौता गरेको दृश्य टेलिभिजनका च्यानेलहरुबाट देखाउने अनि ती सबै परिघटना किन र कसरी भए त्यसका सम्पूर्ण तथ्य र तथ्यांकहरुको संग्रह गरेर तिनको विश्लेषण नै नगरि अघिल्लो दिन स्वागत र भोलिपल्ट विरोध गर्ने कांग्रेसका नेताहरुको केटाकेटीपनले जानिनजानि नेपाली राजनीतिमा हुर्किरहेको वाह्य षड्यन्त्रकारीहरुको चलखेललाई ढाकछोप गर्ने काम गरेको जस्तो देखिन पुगेको छ । जसले षड्यन्त्रकारीहरुको षड्यन्त्रलाई खोतलेर यथार्थमाथि प्रकाश पारेर जनतालाई सचेत गराउनु पर्ने थियो, त्यही शक्ति समसामयिक परिस्थिति र परिवेशको अध्ययन गर्न कति अचेत र असक्षम रहेछ, त्यो छर्लङ्ग भएको छ ।
त्यस्तै नेकपाको सरकारले नेकपा माओवादी पार्टीको विप्लव समूहमाथि आतंकवादीको आरोप लगाएर त्यसको दमन गर्न प्रतिवन्ध लगाएको विषयमा पनि कांग्रेसले शुरुमा हर्षविभोर भएर स्वागत मात्र गरेको होइन, सरकारले माग्दैनमागेको समर्थन र सहयोगको आश्वासन पनि दियो तर त्यस्तो फोस्सामा पाएको आश्वासन ग्रहण गर्ने हो कि होइन भन्ने दोधारमा सरकार परिरहेका बेला कांग्रेस फनक्क फर्केर विरोध गर्नथाल्यो । कुन्नि कसले हो, उसलाई संविधान पल्टाएर देखाइदियो, अनि, झल्याँस्स भएर ब्यँुझ्यो र भन्न थाल्यो, प्रतिवन्ध त असंवैधानिक पो रहेछ । उसको त्यो एउटै वक्तव्यले १२ बुँदे दिल्ली सम्झौता, शान्ति प्रक्रिया, संविधानसभाबाट संविधान निर्माण सबै आफ्नै पार्टीका नेताको नेतृत्वमा भएको दावीबाट धोती खुस्किन पुगेको थियो । त्यत्ति मात्र होइन, उसको अस्थिर र चंचल प्रतिक्रियाले नेपालको राजनीतिक परिवर्तनका वाहक मानिएका नायकहरु कति निरीह र दारुण रहेछन्, त्यो पनि छिप्नै नसक्नेगरि थप उदाङ्ग हुन पुगेको छ ।
विप्लव माओवादीको हत्या, हिंसा र आतंकको प्रेरणा र मूल श्रोत कुन हो ? हिजोको प्रचण्ड माओवादी र अस्तिको झापाली माओवादी हुन् कि अरु नै कोही छन् ? समस्याको पहिचान गर्न त्यसको जडसम्म पुग्नुपर्छ कि पर्दैन ? कसरी उनीहरु चीनका माओका नाममा पार्टी खोलेर भारतको विरोध गर्दागर्दै उसकै साखुल्य हुन पुगे र १२ बुँदे दिल्ली समझौता गर्न प्रस्तुत भए ! ख्वै, कांग्रेसले त्यसको मूल्यांकन र विश्लेषण गरेको ? कम्युनिष्ट विचारको प्रतिनिधित्व गरेर अहिलेको सिद्धान्तहीन राजनीतिक व्यवस्थाको वैकल्पिक शक्तिका रुपमा विप्लव माओवादी स्थापित हुँदै गएको तथ्यबाट आत्तिएर कम्युनिष्टको पहिचान गुमाउँदै गएका सत्ताधारीहरुले उसमाथि राजनीतिक चरित्र गुमाएको आरोप लगाएर प्रतिवन्ध लगाउनु सत्ताधारीहरुसंग उपलब्ध अन्तिम विकल्प हो । तर नेपालमा विकल्पको खोज गर्ने शक्तिका लागि भने त्यो अन्तिम होइन । भारतका माओवादीले हिजो प्रचण्ड माओवादीलाई समर्थन र सहयोग गरेका थिए, तर जब उनीहरु भारत सरकारसंग आत्मसमर्पण गर्न गए तब गद्दार भनेर उसले गाली गरेको थियो । भारत सरकारका लागि हिजो पनि भारतीय माओवादी स्वीकार्य थिएनन्, आज पनि छैनन् । नेपालका कम्युनिष्टहरु परिवर्तित भएर भारत समर्थक हुन पुगेका हुन्, भारत कम्युनिष्ट समर्थक भएको होइन । त्यसो हुन्थ्यो भने भारतका माओवादी अहिले पनि भारत सरकारका दृष्टिमा आतंककारी हुने थिएनन् । त्यसमा भारतलाई कुनै शंका र द्विविधा छैन । भ्रममा त नेपालका निमित्त नायकहरु मात्र परेका हुन् ।
कांग्रेस, प्रजातन्त्रवादी पार्टी हो । प्रजातन्त्रको सैद्धान्तिक विकल्प भनेको अधिनायकवादी कम्युनिष्ट शक्ति हो । जो चुनावबाट सत्तामा आउँछ, त्यो कम्युनिष्ट होइन र हुन पनि सक्तैन । कम्युनिष्ट भनेको सर्वहाराको अधिनायकवादको सिद्धान्त मान्ने पार्टी नै हो । त्यस अर्थमा विप्लव माओवादी अहिलेलाई सच्चा कम्युनिष्ट पार्टीजस्तो देखिएको छ । धेरैलाई यो सत्य सुपाच्य नहोला तर सत्य डग्दैन, झुटो टिक्दैन भन्ने शास्त्रोक्त कथन, तिनले पनि बिर्सन हुँदैन । कांग्रेसले त्यही सत्य बिर्सेकाले लाटाको खुट्टा बाटामा र बाठाको गोडा कुलाको हिलोमा जाक्किएर अड्किएको टुलुटुलु हेरेर बस्न वाध्य छ ।
कांंग्रेस, हिजो पनि वैकल्पिक शक्ति थियो, आज पनि छ । जन्मैदेखि राणाको विकल्पका रुपमा विकसित कांग्रेस राजाको ३० वर्ष लामो शासनको पनि विकल्प थियो । विकल्पको खोजका क्रममा अहिले कम्युनिष्ट सत्तामा आए पनि प्रजातान्त्रिक विश्वमा अप्रजातान्त्रिक शक्तिले नेतृत्व गरेर प्रजातान्त्रिक पद्धतिलाई अघि बढाउन संभव छैन भन्ने सबैले बुझेका छन् । विज्ञानले पनि त्यही भन्छ । त्यति सोझो र स्पष्ट कुरा बुझ्न नचाहेर कांग्रेस दुःख पाइरहेछ । पार्टी हाँक्न पार्टीका विचार बुझेका मान्छे चाहिन्छ । त्यस्ता व्यक्तिको कांग्रेसमा कुनै कमी छैन । तर नेतृत्वमा इच्छाशक्तिको अभावका साथै सबैलाई समेट्ने लोभ पनि संवरण गर्न नसकेको स्थितिले कांग्रेस हदसम्मको लथालिङ्ग र अशक्त पार्टीमा रुपमा चिनिन पुगेको छ । तसर्थ कांग्रेसको पुनर्जागरणका लागि नेतृत्वले आफू प्रिय हुनेभन्दा पनि कांग्रेसलाई सबैको प्रिय पार्टी बनाउन अग्रसर हुनुपर्छ । त्यसपछि ईश्वरले पनि त्यसको सहयोग गर्छन्, जो आफैं उठ्ने प्रयास गर्छ भन्ने भनाईको सार्थकता कसरी सावित हुँदोरहेछ, त्यो आफसेआफ प्रकट हुनेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments