काठमाडौं : अभिनेत्रीको रूपमा मिरुना मगरले फिल्म ‘लालपुर्जा’बाट डेब्यु गरेकी हुन्। डेब्युमा धेरै चर्चा भए पनि उनको फिल्मले सफलता पाउन सकेन। भर्सटायल अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन्। यद्यपि, प्रदीपसँग रोमान्स गरेको फिल्म ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो। उनको पछिल्लो रिलिज फिल्म ‘साइनो’ हो।
फिल्म सफल नभए पनि मिरुनाको चर्चा हुन्छ। लन्डनको सुविधासम्पन बसाइ छाडेर फिल्मी जगत्मा आफ्नो भविष्य खोजिरहेकी मिरुनाले आफूले सक्दो मेहनतका साथ अगाडि बढिरहेको बताएकी छन्। ‘मैले पाएको काममा कतै इमानदारिता छाडेको छैन। सक्दो मेहनत गरिरहेकी छु’, उनले भनिन्। पछिल्लो फिल्म ‘च च हुई’मा देखिने मिरुना आशावादी छिन्। फिल्ममा उनी हिमाली भेगकी युवतीको भूमिकामा छिन्।
यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन्। उनी आर्यनबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछिन्। आफ्नो परिवार यूकेमा रहेकाले यहाँ छायांकन हुने फिल्मकै युनिटमा आफ्नो परिवार खोज्ने मिरुनाले ‘च च हुई’ दिमाग लगाउने फिल्मभन्दा पनि पूर्ण व्यावसायिक रहेको बताइन्।
फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा पनि उनको कोस्टार छन्। उनले आर्यन र भोलाबाट आफूले धेरै सिकेको बताइन्। त्यसो त फिल्ममा उनी फ्रेस भएकै कारण भित्रिएकी निर्देशक तथा सम्पादक साम्तेन भुटियाले बताए। साम्तेन मात्र नभई टिम नै मिरुनाको कामदेखि उत्साहित छ। यसै फिल्ममार्फत फिल्म निर्माणमा भित्रिएका अमृत घोले लामा पनि मिरुनाको कामबाट सन्तुष्ट छन्। एजीएल इन्टरटेनमेन्टमार्फत बर्सेनि स्तरीय फिल्म बनाउने तयारीअनुरूप यस क्षेत्रमा भित्रिएका अमृतले बिनासम्झौता फिल्म तयार गरेको बताए।