२१ महिनामा सरकारका २१ असफलता

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका २१ वटा असफलता औंल्याएको छ । भारतले हालै जारी गरेको राजनीतिक नक्सा, गुठी विधेयक, बालुवाटार जग्गा काण्ड, वाइड बडी प्रकरणलगायत सरकारका असफलता कांग्रेसले सार्वजनिक गरेको हो । उसले सरकारको २१ महिनाको कामको मूल्यांकन गरेर मात्र उपनिर्वाचनमा मत दिन मतदातालाई आग्रह गरेको छ ।
‘दुईतिहाइको सरकारको पाँच वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एकतिहाइ समय सकिएको छ । यस अवधिले बाँकी दिउँसो र साँझका लागि परिणाममुखी सुखद संकेत बिल्कुलै दिएको छैन’, कांग्रेसले भनेको छ ।
असन्तुष्ट पक्षका माग संविधान संशोधन गरी सम्बोधन गर्न सरकार अनिच्छुक रहेको आरोप कांग्रेसले लगाएको छ । नेकपाको सैद्धान्तिक चित्र र चरित्र प्रस्ट नभएको दाबी गर्दै कांग्रेसले सत्ता सञ्चालनका क्रममा लोकतान्त्रिक संविधानप्रतिको निष्ठाभन्दा कम्युनिस्ट दर्शन बढी देखिएको टिप्पणी गरेको छ । संघीयता कार्यान्वयनप्रति सरकार प्रतिबद्ध नरहेको कांग्रेस ठहर छ । कूटनीतिमा पनि सरकार विवादित बनेको आरोप कांग्रेसले लगाएको छ । भेनेजुएला प्रकरणदेखि सी विचारधाराको प्रशिक्षणसम्मको विषयमा सरकारले देशलाई गुमराहमा राखेको निष्कर्ष उसले निकालेको छ।
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर निषेधको राजनीति गरेको आरोप कांग्रेसको छ । सरकारका कारण समस्या समाधानभन्दा द्वन्द्वको मनोवैज्ञानिक विस्तारमा बल पुगेको ठहर उसले गरेको छ ।
शान्ति–सुरक्षाका सवालमा सरकारको २१ महिना असफल रहेको भन्दै निर्मला प्रकरणमा सरकार हराएको दाबी कांग्रेसको छ । मूल्यवृद्धि, वाइड बडीमा भ्रष्टाचारमा क्रान्तिकारी छलाङ, बूढीगण्डकीमा राष्ट्रघात, मेलम्ची परियोजनामाथि खेलबाड, निजगढ विमानस्थलको भविष्य अन्योललगायत विषय कांग्रेसले सार्वजनिक गरेको छ । चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न, सरकारका कारण संवैधानिक परिषद् असफल भएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको र होली वाइन प्रकरणलाई पनि कांग्रेसले सरकारको असफलता भनेको छ ।
यस्तै सामाजिक सुरक्षा कोष, बालुवाटार काण्ड, निरन्तर सेयर बजार ओरालो र असहिष्णु अभिव्यक्ति र अराजनीतिक चरित्रलाई पनि कांग्रेसले सरकारका असफलता भनेको छ ।
पत्रकार सम्मेलनमार्फत कांग्रेसले उपनिर्वाचनलक्षित ‘नेपाली कांग्रेसको आह्वान’ पुस्तिका सार्वजनिक गरेको छ । पुस्तिकामा पार्टीले विगतमा गरेका राम्रा कामको चर्चाका साथै कांग्रेसलाई लाग्ने गरेका आरोपको खण्डन गरिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments