राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको उल्लेख गरेका छन् । प्रदेश १ का प्रमुखमा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का प्रमुखमा अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई बर्खास्त गरेकी हुन् ।
संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था छ । निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, निजको मृत्यु भएमा रिक्त हुने व्यवस्था संविधानमा रहेको छ । धारा १६५ को उपधारा (२) मा भनिएको छ–कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ भन्ने उल्लेख छ ।
Previous Article
त्रिधार्मिकस्थल हलेसीमा धर्मशाला बनाईने
Next Article