काठमाडौं : १०औं राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा जारी २३औं राष्ट्रिय पौडी प्रतियोगिताको दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान बन्ने क्रम रोकिएन । दोस्रो दिन चार विधामा राष्ट्रिय कीर्तिमान कायम हुँदा एनआरएनकी लिली बोहरा र बागमतीका अभिभ प्रधानले उत्कृष्ट प्रदर्शन गरेका छन् । लिली र अभिभले दुई÷दुई स्वर्ण पदक जित्न सफल भए ।
महिला ८०० मिटर फ्रिस्टायलमा लिलीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले निर्धारित दूरी ९ मिनेट ३४.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि यो कीर्तिमान डुवाना लामाको नाममा थियो । लामाले सन् २०२५ मा काठमाडौंमा भएको दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा १० मिनेट ६.९२ सेकेन्डको समय निकालेकी थिइन् । दोस्रो स्थानमा रहेकी त्रिभुवन आर्मी क्लबकी डुवानाले पनि आफ्नो पुरानो कीर्तिमान सुधार गर्दै ९ मिनेट ५९.५३ सेकेन्डको समय निकालिन् । लिलीको प्रदर्शनलाई उछिन्न नसक्दा उनी रजतमा सीमित भइन् । नेपाल पुलिस क्लबकी दिवांसी जोशीले १० मिनेट ५८.५८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन् । पुरुष ४०० मिटर व्यक्तिगत मिड्लेमा सुदूरपश्चिमका अथर्व सिंहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे । उनले ४ मिनेट ५६.७६ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । यसअघि उनको नाममा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान थियो । नेपाल पुलिसका मायोन श्रेष्ठले ५ मिनेट ७.५७ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका एरिक कर्माचार्यले ५ मिनेट २६.९९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जिते ।
यसैगरी बागमतीका अभिभ प्रधानले पुरुष १०० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले १ मिनेट १.५१ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । यसअघि प्रारम्भ भण्डारीको नाममा रहेको १ मिनेट ३.३९ सेकेन्डको कीर्तिमान अभिभले तोडेका हुन् । भण्डारीले सन् २०२५ मा काठमाडौंमा भएको दोस्रो एक्वाटिक्स च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए । यस स्पर्धामा बागमतीकै रेवन्तबहादुर श्रेष्ठले रजत तथा आर्मीका जाडेन श्रेष्ठले कांस्य जिते । पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम भयो । नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ, आरुष अवाले, मायोन श्रेष्ठ र कल्किन श्रेष्ठ सम्मिलित टोलीले ८ मिनेट ३२.१३ सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमान बनाए । यसअघि मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमान थियो । यो पुरानो कीर्तिमानलाई बागमती प्रदेश र नेपाल आर्मीले पनि सुधार गरे । एरिक कर्माचार्य, रेवन्तबहादुर श्रेष्ठ, वशिष्ठ राज शाही र अभिभ प्रधान सम्मिलित बागमतीको टोलीले ८ मिनेट ४३.४६ सेकेन्ड तथा आरभ अग्रवाल, अशिम भण्डारी, सौरेनबहादुर सिंह र अल्भिन महर्जन सम्मिलित आर्मीको टोलीले ८ मिनेट ५७.६४ सेकेन्डको समय निकाले ।
महिला ५० मिटर बटरफ्लाईमा एनआरएनकी मिखा काया थापाले ३०.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । नेपाल पुलिसकी देवांसी जोशीले रजत तथा बागमतीकी इरा अमात्य र आर्मीकी सिशम्बुन राईले संयुक्त रूपमा कांस्य जिते । पुरुष ५० मिटर बटरफ्लाईमा बागमतीका अभिभ प्रधानले २६.०७ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । नेपाल पुलिसका इरभिन श्रेष्ठले रजत तथा नेपाल आर्मीका सौरेनबहादुर शाही र अशिम भण्डारीले संयुक्त रूपमा कांस्य जिते ।
महिला २०० मिटर फ्रिस्टायलमा लिली बोहराले २ मिनेट १४.०४ सेकेन्डको समय निकाल्दै अर्को स्वर्ण थपिन् । नेपाल आर्मीकी डुवाना लामा दोस्रो तथा एनआरएनकी मिखाकाया थापा तेस्रो भए । पुरुषतर्फ नेपाल पुलिसका इरभिन श्रेष्ठले १ मिनेट ५९.४८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । पुलिसकै कल्किन श्रेष्ठले रजत तथा आर्मीका अल्भिन महर्जनले कांस्य जिते । महिला १०० मिटर ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जन (सिनियर) ले १ मिनेट ११.९५ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । एनआरएनकी मिखा काया थापाले रजत तथा बागमतीकी रोयल प्रजापतीले कांस्य जितिन् । महिला ४ गुणा १०० मिटर मिड्ले रिलेमा बागमतीकी आर्या महर्जन, प्रान्जा ताम्राकार, इरा अमात्य र रोयल प्रजापती सम्मिलित टोलीले ५ मिनेट ५.६९ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्यो । नेपाल पुलिसले रजत तथा नेपाल आर्मीले कांस्य हात पारे । ४ गुणा ५० मिटर मिक्स मिड्ले रिलेमा पनि बागमतीले स्वर्ण जित्दा आर्मी दोस्रो र नेपाल पुलिस तेस्रो भए ।
प्रतियोगिताको दोस्रो दिन सकिँदा बागमती प्रदेशले पदक तालिकामा आफ्नो अग्रता कायम राखेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । एनआरएन ६ स्वर्ण, १ रजत र २ कांस्यसहित दोस्रो स्थानमा छ । नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कांस्य जित्दा नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कांस्य हात पारेको छ । सुदूरपश्चिमले १ स्वर्ण र २ रजत तथा कोशीले १ स्वर्ण जितेका छन् । प्रतियोगिताको तेस्रो दिन १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । पौडीका प्राविधिक निर्देशक विष्णु खड्काले जानकारी दिए ।
Previous Article
आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश
No Newer Articles

नेपालमाला
