काठमाडौं : १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको पहिलो दिन बागमती प्रदेशले मंगलबार चार स्वर्णसहित ९ पदक जितेको छ । बागमतीले थप दुई रजत र तीन कांस्य पनि जित्यो । एनआरएनले तीन स्वर्ण र एक कांस्य, त्रिभुवन आर्मी क्लबले दुई स्वर्ण, पाँच रजत र एक कांस्य, नेपाल पुलिस क्लबले एक स्वर्ण, दुई रजत र ६ कांस्य तथा कोशीले एक स्वर्ण र सुदूरपश्चिमले दुई रजत प्राप्त गरेको छ ।
प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष सिंगल्समा गण्डकीका प्रदीप खड्का र आर्मीका प्रणव खनालले विजयी सुरुवात गरेका छन् । बर्दियाको गुलेरियामा भएको खेलमा प्रणवले पुलिसका निहालजंग थापालाई ४–६, ६–३, ६–२ को सेटमा पराजित गरे । प्रदीपले लुम्बिनीका मघेन्द्र गिरीलाई ६–०, ६–२ को सोझो सेटमा हराए । पुलिस सिंगल्समै गण्डकीका करणबहादुर थापाले पुलिसका दर्शिल श्रेष्ठलाई ६–३, ७–५, बागमतीका निसान श्रेष्ठले एपीएफका सक्षमविक्रम शाहलाई ६–३, ६–१, एनआरएनएका रेन्जेन लामाले सुदूरपश्चिमका रमेशसिंह दंगालाई ६–०, ६–०, बागमतीका प्रितम परियारले एपीएफका देवासिश रेउलेलाई ६–०, ६–३, एनआरएनएका असभसम्राट हाडाले लुम्बिनीका विवेक कुँवरलाई ६–०, ६–० र आर्मीका राजवीर प्रधानले सुदूरपश्चिमका माधवसिंह विष्टलाई ६–०, ६–० ले पाखा लगाए ।
यसैगरी पुरुष फुटबलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २–० गोलले पराजित गरेको हो । पुलिसका धिरेन्द्र शाहले ३६औं र सुजन मगरले ४६ औं मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई १–० गोलले हरायो । मधेसका विकाश दर्लामीले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।
महिला क्रिकेटमा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरूवात गरेका छन् । वीरेन्द्रनगरको प्रादेशिक रंगशालाको माथिल्लो मैदानमा एपिएफले लुम्बिनी प्रदेशलाई एक सय ५८ रनले हरायो । अर्को खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले हरायो ।
यसैगरी महिला बास्केटबलमा विजयी सुरुवात गरेको छ । मंगलबारबाट सुरु भएको प्रतियोगिताको थ्री बाइ थ्री स्पर्धामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । थ्री अन थ्रीमा आर्मीले एपीएफ क्लबलाई १७–१२ को अन्तरले हरायो ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको पहिलो दिन मंगलबार भएको खेलमा फुल कोर्ट र थ्री बाइ थ्रीतर्फ दुई÷दुई खेल सम्पन्न भएको हो । फुल कोर्टमा एपीएफ र सुदूरपश्चिमले विजयी सुरुवात गर्न सफल भए । फुल–कोर्टमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरमा पराजित गरेको छ । सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ । उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले हरायो ।
Next Article

नेपालमाला
