काठमाडौं : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो । सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको हो । एनपीएलको तीन वटै संस्करणमा पनि फाइनलमा पुगेको सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रोमा लुम्बिनी लायन्ससँग स्तब्ध बनेको थियो । सुदूरपश्चिमले लुम्बिनीसँगको लगातार तेस्रो हारलाई बिर्साउँदै उपाधिमाथि कब्जा जमाएको हो । दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग स्तब्ध बनेको सुदूरपश्चिमले तेस्रो संस्करणमा लगातार दुई पराजय बेहोरेको थियो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनीसँग सात विकेटको हार बेहोरेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा पनि ६ विकेटको नतिजा सुम्पिएको थियो ।
सुदूरपश्चिमलाई सहज जित दिलाउन जर्ज मन्सीले शतकीय पालि खेलेका थिए । आक्रामक ब्याटिङ गरेका उनले ५४ बलमा १२ छक्का र आठ चौकाको सहयोगमा अविजित एक सय २५ रन बनाए । यस्तै अर्का ओपनर विनोद भण्डारीले ३० रन जोडेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रनको योगफल खडा गरेको थियो । लुम्बिनीका दीलिप नाथले अविजित ३९ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३०, निरोसन डिक्वेलाले २८, अली शेखले २४ र डार्सी सटले २१ रन बनाए । सुदूरपश्चिमका स्कट केगुलेइनले दुई विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थरिन्दु रत्नायकेले एक/एक विकेट हात पारेका थिए ।
Previous Article
सुदूरपश्चिम तेस्रो पटक फाइनलमा
No Newer Articles

नेपालमाला
