काठमाडौं : काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८८ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।
उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए । उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्न लागिएको हो । त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने उनी निकट स्रोतले जनाएको छ । पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।
पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

नेपालमाला
