काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधन भएको छ ।
नशा सम्बन्धी रोगबाट विगत तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाको बुधबार बिहान ३ः४५ बजे विशालनगरस्थित ओरागन केयर होममा निधन भएको उनका परिवारका सदस्य एवं नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए ।
नशा सम्बन्धी रोगले थला पर्नुअघि उनको उपचारको हरसम्भव उपाय अवलम्वन गरिएको थियो । उनको अमेरिका, भारत, चीनलगायतका राष्ट्रमा समेत पुगेर उपचार गराइएको थियो । तर, कहिँ पनि उपचार सम्भव नभएपछि पछिल्लो दुई वर्षदेखि ओरागन केयर होममै राखेर उपचार गराइएको थियो । पछिल्लो समय उनले मुखबाट केही पनि खान नसक्ने अवस्थामा पुगेका थिए । उनी केयर होममा रहँदा पनि देशको समसामयिक घटनाक्रमप्रति भने अपडेट रहन्थे । उनी विभिन्न विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटसहरु पनि लेख्थे ।
उनको बौद्धस्थित शेर्पा गुम्बामा लगेर अन्तिम संस्कारको प्रक्रिया सुरु हुने बताइएको छ । अन्तिम संस्कार गुम्बाका पुजारीसँगको छलफलपछि मात्रै सुरु हुने उनका परिवारका सदस्य एवं नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए ।
अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा खेलकुदमा निकै लोकप्रिय थिए । उनले नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव भएर काम गरेका थिए । शेर्पा नेपाल बास्केटबल संघका पनि पूर्व अध्यक्ष थिए । टेण्डीका बुवा, आमा, दुई दाइ र एक बहिनी छन् ।

नेपालमाला
