काठमाडौं : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको ८२औं मिनेटमा भारतले निर्णायक गोल गरेको थियो । दोस्रो हाफमा लगातार आक्रमण बुनेको भारतका लागि कप्तान सुनील क्षत्रीले गोल गरेका थिए । उनले डीबक्सभित्रबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए ।
भारतसँग कम्तीमा बराबरी खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । पहिलो हाफमा पनि भारतले बलमा पक्कड जमाएको थियो । भारतको केही सशक्त प्रहारलाई नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले विफल पारेका थिए । खेलमा काउन्टर एट्याकमा गोल गर्ने रणनीति लिए पनि सफल हुन सकेन । पाएका केही राम्रो अवसरको सदुपयोग गर्न नसक्दा नेपालले पराजय बेहार्न बाध्य भयो ।
साफ च्याम्पियनसिपमा नेपालले ६ अंक जोडेको छ । नेपाल लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको पनि ६ अंक नै छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा पनि उत्कृष्ट लयलाई कायम राखेको नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको थियो । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा असोज २७ गते बंगलादेशको सामना गर्नेछ । भारतले सोही दिन घरेलु टोली माल्दिभ्सको सामना गर्नेछ । भारतले यसअघिका दुवै खेल बराबरी खेलेको थियो । साफ च्याम्पियनसिपमा पाँच अंक जोडेको भारत तेस्रो स्थानमा छ ।
Previous Article
५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
Next Article

नेपालमाला
