काठमाडौं : नेपाल तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्नेमा उल्टै उनीहरुलाई हत्तोत्साहित गर्नेहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरसको महामारीको समयमा आफ्नो ज्यान नै जोखिममा पारेर अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति उच्च सम्मान गर्न पनि तरुण दलले आग्रह गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्ति

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ । पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ ।
साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।

नेपालमाला
