काठमाडौं : सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि पीसीआर परीक्षण सहज नभएका मुलुकमा रहेका नेपालीलाई नियमित उडानमा नल्याउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। प्रवक्ता खतिवडाका अनुसार अब सांस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्रायले दैनिक ५०० यात्रु नकट्ने गरी उडान तालिका बनाउने छ।
नियमित उडानबाट आउने नागरिक, कूटनीतिक नियोगका कर्मचारीले अनिवार्य रुपमा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ।
सरकारले पीसीआर परीक्षण प्रक्रिया जटिल भएका कतार, कुवेत र साउदीबाट भने नियमित उडानको माध्यमबाट यात्रु नल्याउने निर्णय गरेको छ। त्यहाँ अप्ठेरोमा परेका नागरिकलाई कूटनीतिक नियोगको सिफारिस अनुसार चार्टर्ड उडानबाट ल्याइने प्रवक्ता खतिवडाले जानकारी दिए।
सरकारले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उद्धारमा नयाँ मापदण्ड बनाएको हो। पीसीआर रिपोर्ट नेगेटिभ आएका र पीसीआर परीक्षण नै नगराएका व्यक्तिलाई सँगै ल्याउँदा जोखिम बढ्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो।
विदेशमा रहेका नागरिकको उद्धारका लागि नियमित उडानको तालिका बनाउने जिम्मेवारी सरकारले नागरिक उड्ययन मन्त्रालाईलाई दिएको छ।

नेपालमाला
