–मदन बस्नेत
आफ्नै खेतबारीको
साँध काँल्ला नचिन्ने म
अचेल लिपुलेक र लिम्पियाधुराको
सीमाना खुट्याउने भएको छु ।
रसायनशास्त्र र औषधि विज्ञान
फिटिक्कै जान्दिन
तैपनि दिनमा एकपटक
कोरोनाको उपचार विधि
फेसबुकमा पोस्ट्याउन भ्याएको छु ।।
कानुन पढेको छैन मैले
न त कुनै अदालतको न्यायाधीश नै हुँ
तर पनि
को दोषी ? को निर्दोष हो ?
किटानी साथ ठोकुवा
गरिदिन थालेको छु ।
म आफैले के गर्नु पर्ने हो
पत्तो हुँदैन मलाई
तर अरुले के गर्नु पर्छ भनेर
उपदेश बाँड्दै हिंड्ने गरेको छु ।।
तथ्य, प्रमाण र साक्षी
केही बुझ्नु छैन मलाई
को भ्रष्ट ? को इमान्दार ?
मनमानी घोषणा
गरिदिने भएको छु ।
को छ देशभक्त, को देश विरोधी ?
को हो राष्ट्रवादी अनि को हो राष्ट्रघाती ?
लाइसेन्स म आफैले
बाँडिदिने गरेको छु ।।
म त यस्तै हो नि ब्रो !
सूर्यविनायक भक्तपुर ।

नेपालमाला
