काठमाडौं : भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ। कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले गुन्जी–जोलिंकन सडक निर्माणलाई तीव्रता दिएको हो।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए। त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ।
त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ। ३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ। ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिंकनसम्मको ट्र्याक खोल्ने (कटिङ)को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ, ‘३४ किलोमिटर लामो सडकमा अब पुल बन्न बाँकी छ। पुल बनेसँगै आदि कैलाश पहुँच सहज हुन्छ। पहिला आदि कैलाश जान दुई दिन पैदल यात्रा गर्नुपथ्र्यो भने सडक निर्माण भएपछि गुन्जीबाट डेढ घण्टामा पुग्न सकिनेछ। ’
जोलिंकनबाट लिम्पियाधुरा करिब १५ किलोमिटर उत्तर–पश्चिममा पर्छ। चीनले लिम्पियाधुरा नजिकसम्म सडक बनाइसकेको छ। जोलिंकन पर्वतमालामै आदि कैलाश अवस्थित छ। त्यसलाई स्थानीय छोटा कैलाश भन्छन्। चीनको तिब्बतस्थित कैलाश मानसरोवर पुग्न नसक्नेहरू आदि कैलाशको दर्शन गरी नजिकै रहेको पार्वती कुण्डमा नुहाएर फर्किने गरेका छन्। आदि कैलाश र पार्वती कुण्ड महाकालीपारि भारतीय भूमिमा पर्छन्। तर, भारतीय भूभागबाटै त्यहाँ जान सहज छैन। त्यसकारण महाकाली नदीवारि भारतद्वारा अतिक्रमित भूमिबाटै उसले सडक बनाइरहेको हो।
गुन्जी र कुटीको बीचमा दुईवटा पुल निर्माण भइसकेको समाचारमा उल्लेख छ। जुलाई अन्तिमसम्ममा कुटी गाउँको घट खोलाको नालामा तेस्रो पुल निर्माण भइसक्नेछ। अरू दुई पुल पनि सेप्टेम्बरसम्ममा बम्ने सम्भावना रहेको जनाइएको छ। नाभी, कुटीलगायत नेपाली भूभाग अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौजलाई यी पुल बनेसँगै आवत्जावतमा सहज हुनेछ।
बीआरओले सडक निर्माणमा एक हजार स्थानीयलाई परिचालन गरेको जनाइएको छ। कुटी, गुन्जी, नाभीका साथै बन्दी, गब्र्याङ, नपल्च्यु, रोकाङलगायत ठाउँका बासिन्दालाई सडक निर्माणमा लगाएको छ।
भारतले लिपुलेक–मानसरोवर र गुन्जी–जोलिंकन सडकलाई प्राथमिकतामा राखेको देखिएको छ। भारतले २०१९ नोभेम्बर २ ( २०७६ कात्तिक १६)मा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर आफ्नो नक्सा जारी गरेको थियो। नेपालले त्यसप्रति विरोध जनाए पनि भारत वार्तामा आएन। त्यसपछि उसले नेपाली भूभाग अतिक्रमण गरी सडकै उद्घाटन गरेको थियो। त्यसपछि भने नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जेठ ७ गते आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्यो। प्रतिनिधिसभाबाट जेठ ३१ मा नयाँ नक्सा अनुमोदन गरी असार ४ मा राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण भई लागू भइसकेको छ।
अन्नपूर्ण पोस्ट्बाट

नेपालमाला
