काठमाडौं : ‘सुरमा भोपाली’ नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो ।
जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् । उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् ।
सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनलाई बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । यसका साथै ब्रह्मचारी, नागिन र अन्दाज अपना–अपना जस्ता फिल्ममा उनको कमेडी रोल रुचाइएको थियो । जुन फिल्ममा उनले सलमान खानको पिताको भूमिका निर्वाह गरेका थिए ।
जगदीपले सुरुमा बाल कलाकारको रुपमा मास्टर मुन्नाको रुपमा बीआर चोपडाको फिल्ममा ‘अफसाना’मा खेलेका थिए । ‘लैला मजनु’मा पनि बालकलाकारको रुपमा उनले अभिनय गरेका छन् ।
उनले ‘हम पन्छी एक डाल के’ फिल्ममा गरेको अभिनयको निकै चर्चा भएको थियो । तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले समेत उनको प्रसंशा गरेका थिए ।
पछिल्लो तीन महिनाले बलिउडले चर्चित पाँच हस्तीलाई गुमाइसकेको छ । गत अप्रिलमा इमरान खान र ऋषि कपुरले संसार छाडेका थिए । जुन महिनामा सुशान्त सिंह राजपुतले आत्महत्या गरेका थिए । केही दिन अघि मात्र चर्चित कोरियाग्राफर सरोज खानको निधन भएको थियो ।

नेपालमाला
