काठमाडौं : नेपाल बक्सिङ संघ लामो समयदेखि विवादको घेरामा पर्नुको मुख्य कारण हो, अध्यक्ष राम अवालेको परिवारवाद । अध्यक्ष अवालेको परिवारवाद मोहकै कारण बक्सिङ विवादको भुमरीमा लगातार परिरह्यो ।
चार वर्षअघि नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले निर्वाचित भए । अध्यक्षले केही सदस्य मनोनित गर्न पाउने प्रावधान बमोजिम उनले आफ्नै भाइ श्याम अवालेलाई मनोनित गरे । बक्सिङ संघ विवादको भुमरीमा पर्नुको मुख्य कारक तिनै श्याम अवाले बनेका छन् । उनले आफूलाई संघको सदस्यमा मात्र सीमित राखेनन्, दाजु राम अवालेको निर्णय गर्न नसक्ने क्षमताको फाइदा उठाउँदै संघलाई नै नियन्त्रणमा राख्दै आएका छन् । ‘राम अवाले आफै निर्णय गर्न सक्तैनन् । अरुको इसारामा काम गर्दा जहिले पनि विवादमा पर्ने गरेका छन् । उनी नेपाली बक्सिङका लागि चाहिने व्यक्ति भए पनि भाइका कारण अध्यक्ष राम अवालेसँगै सिंगो बक्सिङ संघ विवादमा पर्दै आएको छ’, बक्सिङ संघका एक सदस्य भन्छन् । उनी अध्यक्ष राम अवालेको संगठन सञ्चालन गर्ने क्षमता नहुँदा अरुले गोटीका रुपमा प्रयोग गर्दै आएको बताउँछन् ।
पदीय हिसावमा श्याम बक्सिङ संघका मनोनित सदस्य मात्र हुन् तर, उनी सबै काममा सर्वेसर्वा बन्दै आएका छन् । उनकै इसारा र चाहनामा मात्र संघको बैठक बस्ने गरेको छ । बैठकमा के–के एजेण्डा उठाउने, के–के विषयमा निर्णय गराउने भन्ने कुरा सबै उनले नै तय गर्दै आएका छन् । आर्थिक हिसावकिताव पनि उनी आफैले गर्ने गरेका छन् । अर्थात श्याम अवालेले बक्सिङ संघको छायाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् ।
बैठकको एजेण्डा तय गर्ने, बैठक बोलाउने र माइन्युट लेख्ने काम महासचिवको हो । तर, श्याम अवालेकै इसारामा महासचिव सविन भट्टाचार्यको अधिकार खोसिएको छ । उनलाई ‘पेन्डुलम’ बनाएर सबै काम श्याम अवालेले गर्दै आएका छन् । यसैगरी निर्वाचित कोषाध्यक्ष गौतम सुजखुको अधिकार कटौती गरी रामबहादुर गिरीलाई कार्यवहाक कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । गिरी पनि ‘थपनाका’ कार्यबहाक कोषाध्यक्ष मात्र हुन्, सबै काम श्याम अवालेकै इच्छामा हुने गरेको छ । गिरीलाई पहिले नै खाली चेकमा सही गराएर अवाले दाजुभाइले आर्थिक अनियमितता गर्ने गरेको आरोप संघकै पदाधिकारीले लगाउँदै आएका छन् ।
निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै किन कार्यबहाक कोषाध्यक्ष नियुक्त गरियो भन्ने चित्तबुझ्दो जवाफ न अध्यक्ष राम अवालेले दिन सकेका छन्, न त संघका अन्य पदाधिकारीले नै । अवाले दाजुभाइको कुरा मान्ने हो भने सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदको तयारीका लागि थाइल्यान्डमा रहेका खेलाडीका लागि राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम झिक्न कोषाध्यक्ष सुजखुले मानेनन् । सुजखुको अधिकार खोसिँदा उनी नेपालमा थिएनन् । उनी विदेशमा थिए । उनी विदेशमा भएको मौका छोपेर कार्यबहाक कोषाध्यक्ष नियुक्त गरिएको थियो । नेपालमै नभएका व्यक्तिले कसरी चेकमा सही गर्न मानेनन् ! अवाले दाजुभाइको तर्क नै हाँस्यापद देखिएको छ ।
अर्को कुरा त्यसबेला साँच्चिकै समस्या परेको हो र रामबहादुर गिरीलाई कार्यबहाक कोषाध्यक्ष बनाइएको हो भने उनलाई किन अहिले पनि कार्यबहाक नै दिँदै आएको छ ? सुजखु एक सातामै नेपाल फर्किएका थिए । त्यसपछि उनलाई किन पुरानै जिम्मेवारी दिइएन ? कार्यबहाक कोषाध्यक्षबाट रामबहादुर किन हटाइएन ? यी प्रश्नको जवाफ अवाले दाजुभाइसँग छैन ।
श्याम अवालेले छायाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षका रुपमा मात्रै काम गरिरहेका छैनन्, बक्सिङ संघमा उनले जताबाट पनि लाभै लाभ पाएका छन् । उनी आफूलाई संघको स्वघोषित प्रवक्ता भन्दै मिडियामा छाइरहेका छन् । उनी कहिलेदेखि प्रवक्ता भए संघका पदाधिकारीलाई नै अत्तोपत्तो छैन । श्याम अवालेलाई प्रवक्ताको जिम्मेवारी दिनका लागि संघको बैठक बसेको कसैलाई थाहा छैन । राम अवाले अध्यक्षमा निर्वाचित भएपछिको पहिलो बैठकले महासचिव सविन भट्टाचार्यलाई नै प्रवक्ताको जिम्मेवारी दिएको थियो । उनले महासचिवको अरु अधिकार खोसेजस्तै प्रवक्ताको जिम्मेवारी खोसेर स्वघोषित प्रवक्ता बनेका छन् ।
उनी जहाँ आफूलाई जेबाट फाइदा हुन्छ, त्यही पद लिने गरेका छन् । यसका लागि न त संघको बैठक आवश्यक पर्छ न कसैको रायसुझाव नै लिनु पर्छ । ‘आफ्नो हात जगन्नाथ’ भनेजस्तै आफूलाई जे मन लाग्यो त्यही काम एकलौटी रुपमा गरिरहेका छन् । मनलाग्दी पद भिरिरहेका छन् ।
श्याम अवालेको भूमिका बक्सिङ संघमा यति मात्र छैन, उनी नेपाल बक्सिङ संघका इन्टरनेसनल डाइरेक्टर र इन्टरनेसनल कोर्डिनेटर पनि हुन् । इन्टरनेसनल डाइरेक्टरलाई संघको कर्मचारीका रुपमा लिइन्छ । उनले धेरै अन्तर्राष्ट्रिय फोरमहरुमा आफूलाई इन्टरनेसनल डाइरेक्टर र इन्टरनेसनल कोर्डिनेटरका रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । एसियन बक्सिङ कन्फेडेरेसनले सामाजिक सञ्जालमा पनि श्याम अवालेलाई इन्टरनेसनल डाइरेक्टरका रुपमा जन्मदिनमा समेत शुभकामना दिँदै आएको छ । उनले नेपाल बक्सिङ संघ एवं अन्तर्राष्ट्रिय बक्सिङ महासंघ र एसियन बक्सिङ कन्फेडेरेसनबाट इन्टरनेसनल डाइरेक्टरको सेवा सुविधा लिएका छन् कि छैनन्, त्यो फरक पाटो होला तर, डाइरेक्टरलाई तलबी कर्मचारीका रुपमा अन्तर्राष्ट्रिय निकायले ब्याख्या गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ र एसियन बक्सिङ कन्फेडेरेसनका अनुसार पनि श्याम अवाले बक्सिङ संघको तलबी कर्मचारी हुन् । कर्मचारी भएपछि संघको पदाधिकारीमा बस्न पाइँदैन । यस अर्थमा उनले संघको केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने हो ।
नेपाल बक्सिङ संघको विधानको दफा २० को (च) अनुसार पनि श्याम अवालेको सदस्यता स्वतः समाप्त हुन्छ । तर, उनी अहिले पनि सदस्यकै हैसियतमा बहुपद धारण गरिरहेका छन् । बक्सिङ संघको सर्वेसर्वाका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

नेपालमाला
