काठमाडौं : नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा गरेको थियो । बंगलादेशका अरीफुल इस्लाम र जिसम आलमले अर्धशतकीय पालि खेलेका थिए । अरीफुलले अविजित ५९ र जिसमले ५५ रन बनाए । यस्तै अशिकर रहमानले १६, मोहमद रिजवानले १५ र अरहर अमिनले १२ रन बनाए । नेपालका सुवास भण्डारी एक्लैले पाँच विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा एक सय ६९ रनमा समेटिएको थियो । नेपालका विशालविक्रम केसीले ४८, कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए । बंगलादेशका रोनह दुल्लाह बोरसनले चार विकेट लिए । यस्तै सेख परवेज जीवनले तीन तथा इक्वाल हुसेन, महारुफ मृधा र जिसन आलमले एक÷एक विकेट हात पारे । सुपर सिक्सको दोस्रो खेलमा नेपालले शुक्रबार भारतको सामना गर्नेछ ।

Previous Article
अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने ह्यारी भण्डारीको घोषणा
Next Article