काठमाडौं : नेवार समुदायको एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि सुरु भएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । पर्व विशेषतः नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने गर्दछन् ।
बिहीबारबाट सुरु भएको ‘गुँला पर्व’का अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौं बाजा बजाउने प्रचलन रहेको छ । ‘गुँला पर्व’ विशेष गरी बौद्धमार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् ।
पर्वमा बौद्धमार्गी विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।
पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । खेतीपाती सकेर मानिसहरू फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुसीयाली साट्ने पर्वका रुपमा यो पर्वलाई लिने गरिन्छ । उनका अनुसार हरेक दिन एक महिनासम्म टोल टोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने गरिन्छ । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।