काठमाडौं : नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।
खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् ।
त्यसपछि खेलको ८९औं मिनेटमा बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालका गोलरक्षक सुजाता तामाङले उत्कृष्ट बचाउ गरेकी थिइन् ।
बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचालेको हो । बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।

नेपालमाला
