काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भएका छन् । सोमबार भएको २१औं साधारणसभा तथा निर्वाचनबाट नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन् । नेम्बाङले ८४ मध्ये ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत मात्रै पाएका थिए । अध्यक्षका अर्का प्रत्यासी राजीव पौडेलले भने एक भोट पनि ल्याउन सकेनन् । पंकज यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पंकज समूहकै वीरबहादुर खड्का विजयी भएका छन् । खड्काले ४४ मत पाउँदा कर्मा समूहका शिक्षित पराजुलीले ४० मत ल्याएका थिए । यसैगरी चार उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी विजयी भए । लामाले ४८, खतिवडाले र शाहीले ४७ एवं केसीले ४३ मत पाए । लामा, खतिवडा र शाही पंकज समूह र केसी कर्माछिरिङ समूहका हुन् ।
यसैगरी महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा विजयी भएका छन् । पंकज समूहकी सरिलाले ४६ र कर्माछिरिङ समूहकी पेमाले ४३ मत पाइन् । अब १३ केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

Previous Article