काठमाडौं : हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ मलेसिया र सिंगापुरबाट सार्वजनिक गरिने भएको छ । चलचित्रका निर्माता एवं कलाकार शेखर लामाले असार पहिलो साता मलेसिया र सिंगापुरमा ‘टुल्की’को च्यारिटी सो आयोजना गरिने जानकारी दिए । ‘पहिलो चरणमा मलेसिया र सिंगापुरमा च्यारिटी सो गर्न लागेका छौं । त्यसपछि अन्य राष्ट्रमा पनि च्यारिटी सो आयोजना गर्दैछौं’, निर्माता लामाले भने ।
द पाल्म ग्रुपद्वारा निर्माण गरिएको ‘टुल्की’ले उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता लामाले बताए । उनका अनुसार ‘टुल्की’ मा डोल्पाको तल्लो भेगको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्पाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । ‘फरक संस्कार र संस्कृतिमा हुर्किएकी ‘टुल्की’को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौन शोषणको कहालीलाग्दो घटनालाई चलचित्रमा विशेष रूपमा प्रस्तुत गरिएको छ’, निर्माता लामाले भने, ‘नेपालमा अहिलेसम्म बनेका चलचित्रभन्दा भिन्दै सन्देश यो चलचित्रले दिएको छ । लामो अनुसन्धान गरेर चलचित्र निर्माण गरिएको हो ।’ डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा रहेको बहुपति प्रथालाई ‘टुल्की’मार्फत देखाइएको निर्माता लामाले बताए ।
चलचित्रको निर्देशन देवजंग थापाले गरेका हुन् । ‘टुल्की’ थापाको पहिलो चलचित्र हो । ‘टुल्की’मा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली हमाल, भक्तसिंह कठायतलगायत कलाकारको अभिनय छ । ‘टुल्की’को गत तिहारमा टिजर सार्वजनिक गरिएको थियो ।
शेखर लामा र आरपी कर्माचार्यको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा लक्ष्मण सुनारको कथा, शेखर लामाको पटकथा, देवजंग थापाको छायांकन, सञ्जीव लिम्बूको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, रमेश बुढाथोकी र योगेश भट्टराईको कोरियोग्राफी छ । चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको छ । चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । द पाल्म ग्रुपको ‘टुल्की’ तेस्रो प्रस्तुति हो । यसअघि द पाल्म ग्रुपले ‘सयाबुम’ र ‘मितबाको गाउँ’ चलचित्र निर्माण गरिसकेको छ ।