काठमाडौं : त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र एपीएफकी नाङ्जा बुढामगर ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार बसन्तपुर डबलीमा भएको महिला ५७ केजी तौल समूहमा चन्द्रकलाले बागमती प्रदेशकी स्वस्तिका तिरुवा र नाङ्जाले लुम्बिनी प्रदेशकी जानकी थापामगरलाई हराउँदै अन्तिम चारमा स्थान बनाउका हुन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपीएफकी सञ्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल पुलिस क्लबकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाए । महिला ६० केजीमा बागमती प्रदेशकी शशिकला राईले गण्डकीकी जोसिका श्रेष्ठ तथा आर्मीकी संगीता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे ।
यसैगरी पुरुष ६३ केजीमा पुलिसका भूपेन्द्र थापामगरले मधेस प्रदेशका रावण अलीलाई पन्छाउँदै अन्तिम चारको यात्रा तय गरे । यही तौल समूहमा एपीएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुगे । उनले गण्डकीका निश्चल गुरुङलाई पाखा लगाए । पुरुष ६९ केजीमा पुलिसका सनिल शाहीले एपीएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे । भूपेन्द्र र सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र पुलिसका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा पुलिसका शम्भु राजवंशीले प्रदेश १ का भूगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष ७५ केजीमा आर्मीका दीपेश लामाले बागमतीका निश्चल विष्ट र मधेस प्रदेशका कोसिश श्रेष्ठले एपीएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपीएफका साजन तामाङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
पुरुष ९१ केजीमा एपीएफका रविन नेपालले मधेसका विजय राजभण्डारीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगे । सोही स्पर्धामा गण्डकीका किरण विकले लुम्बिनीका केशर खत्रीबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे ।
Previous Article
महानगर र उपमहानगर बाँडफाँडमा कांग्रेस हाबी
Next Article

नेपालमाला
