लन्डन : रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।
यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए ।
‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ’, गुटरेसले भनेका थिए ।