नेपालको सहज जित

काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकपकअन्तर्गत एसियाली छनोटको दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ । मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो ।
भुटानले दिएको ६२ रनको मध्यम लक्ष्य नेपालले ८.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपाललाई सहज जित दिलाउन इन्दु बर्माले अविजित १८ रन बनाइन् । यसैगरी सीता रानामगरले १७ रन बनाउँदा कप्तान रुबिना क्षत्रीले १० रनको योगदान दिइन् । कविता जोशी आठ रनमा अविजित रहिन् । भुटानकी तासी चेकीले एक विकेट हात पारिन् ।
यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रन मात्र जोड्न सकेको थियो । भुटानलाई कम योगफलमा समेट्न नेपाली खेलाडीहरुले कसिलो बलिङ गरेका थिए । भुटानकी नगावाङ छोदेनले सर्वाधिक १३ रन बनाइन् । यस्तै सोनाम पाल्दोनले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १० रन मात्र खर्चिएकी थिइन् । यसैगरी करुणा भण्डारीले एक विकेट हात पारिन् ।
आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो जित हो । सोमबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब बिहीबार कुवेतको सामना गर्नेछ । यसैगरी मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments