ए डिभिजन लिग : मच्छिन्द्रको सुखद् सुरुवात

काठमाडौं : साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सुखद् सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई जित दिलाउन सुनील बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले सान्त्वना गोल फर्काएका थिए ।
खेलको १२औं मिनेटमा सुनील बलले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । विशाल राईले उपलब्ध गराएको लामो पासमा उनले उत्कृष्ट गोल गरेका थिए । त्यसलगत्तै मच्छिन्द्रका विशाल राईले उत्कृष्ट अवसर खेर फालेका थिए । एनआरटीका डिफेन्डरको खुट्टाबाट बल खोसेर अघि बढेका विशालले गोलरक्षकसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट् नजिकैबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा एनआरटी खेलमा फर्किएको थियो । ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिकमा गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । मच्छिन्द्रका देवेन्द्र तामाङले स्टेफन समिर बिनोङलाई फल गरेपछि एनआरटीले फ्रिकिक पाएको थियो । जसलाई एरिकले सदुपयोग गरेका थिए ।
८०औं मिनेटमा सुनील बलले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–१ को जित दिलाए । उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका थिए । जितसँगै मच्छिन्द्रले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका सुनील बल चुनिए ।

आर्मी र पुलिसको बराबरी
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नै सोमबार भएको पहिलो खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको विभागीय डर्बी १–१ गोलको बराबरीमा सकिएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो । सन्तोष हेमरामले दोस्रो हाफको ५०औं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेड गोल गरेका थिए ।
पहिलो गोल खाएपछि आक्रामक खेल खेलेको आर्मीले ६१औं मिनेटमा बराबरी गरेको थियो । परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई विवेकले डिबक्स बाहिरबाट जाली चुमाएका थिए । आर्मीका सेसेहाङ आङदेम्बे म्यान अफ दी म्याच घोषित भए । बराबरीसँगै आर्मी र पुलिसले १–१ अंक बाँडेका छन् ।
कतार एयरवेजको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ भने पहिलो चरणको अन्तिम खेलमा मच्छिन्द्र र एनआरटीबीच खेल हुनेछ । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । यसैगरी उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउने छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments