काठमाडौं : फ्रेन्ड्स क्लब नव प्रवेशी सातदोबाटोसँग सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेल्दै एक÷एक अंक बाँडेका हुन् ।
दुवै टोलीले पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भए । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पक्कड जमाए पनि गोल गर्न भने सकेन । खेलको ३३औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङको फ्रिकिकमा आकाश बुढामगरको हेड बलले पोस्ट्को दिशा लिन सकेन । दोस्रो हाफको सुरुवातमै सातदोबाटोका मार्टिन्स अजयीको हेड बल बाहिरिएको थियो । यसैगरी ५७औं मिनेटमा सातदोबाटोका आकाश बुढामगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक राहुलरामचन्द्र यादवले मुस्किलले बचाएका थिए ।
दोस्रो हाफमा फ्रेन्ड्सले सुधारिएको प्रदर्शन गरेको थियो । खेलको ५९औं मिनेटमा फ्रेन्ड्सका नाथननिल जुड गार्सियाको प्रहार बारमा लागेर फर्किएको थियो । त्यसलगत्तै ६६औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलरक्षक अभिषेक बरालले विफल पारेका थिए ।
७६औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेंलो (रातो) कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमाएको थियो । सुशील राईको प्रहार फ्रेन्ड्सका कप्तान सुरज विश्वकर्माले गोललाइन नजिकैबाट बचाएका थिए । फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादव म्यान अफ दी म्याच बने ।
सातदोबाटोका प्रशिक्षक मेघराज केसीले फिनिसिङमा चुक्दा स्पष्ट तीन अंकको हकदार भए पनि अन्तिममा एक अंकमा चित्त बुझाउन परेको बताए । ‘हामीले खेलको सुरुवातबाटै फ्रेन्ड्सलाई दबाब राखेका थियौं । तर, तालमेल नमिल्दा गोल गर्न सकेनौं’, प्रशिक्षक केसीले भने, ‘मुख्य स्ट्राइकर मार्टिन्स अजयीलाई विपक्षीले मार्किङमा राख्दा त्यसको फाइदा अरु खेलाडीले उठाउन सकेनन् ।’ उनले केही खेलाडी पहिलो पटक दशरथ रंगशालामा उत्रिएका कारण तालमेलमा कमी देखिएको बताए । ‘हाम्रा केही खेलाडी पहिलो पटक दशरथ रंगशालामा उत्रिएका थिए’, केसीले भने, ‘त्यसैले खेलाडीहरु आत्तिएको जस्तो देखिएका थिए । आगामी खेलमा सुधारिएको प्रदर्शन गर्नेछौं ।’
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पहिलो हाफमा केही दबाबमा खेले पनि दोस्रो हाफमा सातदोबाटोलाई दबाबमा राख्न सफल भएको बताए । ‘सातदोबाटो ए डिभिजन लिगको नवप्रवेशी भए पनि हामीले कमजोर टोलीका रुपमा लिएका थिएनौं’, प्रशिक्षक मिश्रले भने, ‘खेलाडीहरुले अनावश्यक फल गर्दा १० खेलाडीमा समेटिन प¥यो । एक अंक पाउँदा पनि हामी खुसी नै छौं ।’
कतार एयरवेजको मुख्य प्रायोजन रहेको सहिद स्मारक लिगअन्तर्गत शनिबार दुई खेल हुनेछ । पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा च्यासल युथ क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ ।

Previous Article