ए डिभिजन लिग आजदेखि : सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्ने छन् । सातदोबाटो यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको हो ।
शनिबारबाट हरेक दिन दुई खेल सञ्चालन हुने छन् । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १३ चरणमा कुल ९१ खेल हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । ‘ए’ डिभिजन लिगमा सहभागी क्लबका प्रशिक्षक र कप्तानले आफ्नो तयारी, योजना र रणनीति बारे बिहीबार आयोजित प्रिम्याच कन्फरेन्समा जानकारी दिएका छन् । प्रिम्याच कन्फरेन्समा बोल्दै अधिकांश क्लबका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु नै रहेको बताएका छन् । ‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, संकटा, च्यासल, ब्रिगेड ब्वाइज, नेपाल पुलिस, त्रिभुवन आर्मी, फ्रेन्ड्स, जावलाखेल, एनआरटी, नेपाल एपीएफ, सातदोबाटो र हिमालय शेर्पा क्लबले प्रतिस्पर्धा गर्दै छन् । लिगको पुछारमा रहने दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुने छन् ।
‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउने छन् । यसैगरी हरेक खेलका विजेताले ५० हजार र खेल बराबरी भएमा दुवै टोलीले २५÷२५ हजार रुपैयाँ पाउने छन् ।
‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ । लिगका लागि कतार एयरवेजले एन्फासँग एक लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो । कतार एयरवेजले यसअघिको लिगमा समेत मुख्य प्रायोजन गरेको थियो ।
‘ए’ डिभिजन लिग काठमाडौं उपत्यकाको तीन र पोखरा रंगशालामा पनि खेलाउने योजना एन्फाको छ । काठमाडौंको दशरथ रंगशाला, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र ललितपुरकै च्यासल मैदानलाई लिगका लागि प्रयोग गरिने भएको छ । पोखरा रंगशालालाई भने मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदानका रुपमा प्रयोग गर्ने भएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments