
सुर्खेतमा राष्ट्रिय महिला तेक्वान्दो
काठमाडौं : नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनामा तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुर्खेतमा हुने भएको छ । फागुन २४ र २५ गते सुर्खेत कभर्डहलमा हुने च्याम्पियनसिपमा एक हजार पाँच सय खेलाडीले सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी दिइन् ।
नेपाली महिला खेलाडीलाई प्लेटफर्म उपलब्ध गराउँदै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको च्याम्पियनसिपमा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेका जुनियर, सिनियर तथा पुम्सेका आधिकारिक तौल समूहमा प्रतिस्पर्धा हुने संयोजक बस्यालले जानकारी दिइन् ।
च्याम्पियनसिपमा प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार पाउने छन् । यसैगरी पहिलो हुने टिमले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् ।