खेलकुदबाटै आफ्नो सशक्त उपस्थिति जनाउनेमध्येका एक हुन्, कुमार लामा घिसिङ । कुमारले तेक्वान्दोबाट आफूलाई खेलकुदमा स्थापित मात्र बनाएनन्, नयाँ पुस्ताका लागि मार्गदर्शक पनि बनेका छन् । २०५० सालदेखि तेक्वान्दोमा पाइला राखेका उनले २०५८ सम्म सक्रिय खेलाडी जीवन बिताए । त्यसलगत्तै २०५९ सालदेखि प्रशिक्षकको भूमिका सुरु गरेका उनी युनाइटेड तेक्वान्दो डोजाङमार्फत खेलाडी उत्पादनमा सक्रिय रहनुका साथै नेपाली खेलकुद क्षेत्रमा कुसल व्यवस्थापकका रुपमा पनि चर्चित छन् । उनकै कुसल व्यवस्थापनमा युनाइटेड तेक्वान्दो डोजाङले काठमाडौं इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपको तीन संस्करण भब्य र सब्य रुपमा सञ्चालन गरिसकेको छ । कुमार काठमाडौं इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपको चौथो संस्करणको तयारीमा थिए । यहीबीचमा कोरोना भाइरसको महामारी सुरु भयो । केही ‘समय पर्ख र हेर’को अवस्थामा रहेका उनी पछिल्लो काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपको तयारीमा निरन्तर रुपमा खटिँदै आएका छन् । तेक्वान्दोको विकास र विस्तारमा निरन्तर क्रियाशील कुमार काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपको संयोजकका रुपमा काम गर्दै आएका छन् । उनीसँग काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपका बारेमा केन्द्रित रहेर गरिएको कुराकानी :–
काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप आयोजना गर्न लाग्नु भएको छ, यसको मुख्य कारण के हो ?
कोरोना भाइरस (कोभिड–१९) का कारण खेलाडीहरु ८–९ महिना त्यत्तिकै बस्नुप¥यो । उनीहरुले लामो समय अभ्याससम्म पनि गर्न पाएनन् । कोरोना भाइरसको महामारीमा खेलाडी, प्रशिक्षकको हौसला बढाउन र उनीहरुलाई पुनः खेलकुदमा फर्काउने उद्देश्यले यो च्याम्पियनसिप आयोजना गर्न लागिएको हो ।
यो सोच चाहिँ कसरी आयो त ?
कोरोना कहरका कारण विश्वभर भर्चुअल प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् । नेपालमा राष्ट्रिय स्तरका प्रतियोगिता भइरहेको अवस्थामा त्योभन्दा अलि बृहत प्रतियोगिता किन नगर्ने भनेर यो च्याम्पियनसिप गर्ने योजना बनाएका हौं ।
चौथो काठमाडौं इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपको तयारीकै रुपमा यो प्रतियोगिताको सोच बनेको हो ?
अवश्य पनि हो । चौथो काठमाडौं इन्टरनेसनल ग्योरोगी तथा पुम्से च्याम्पियनसिपको तयारीको अन्तिम अवस्थामा पुगिसकेका थियौं । त्यो प्रतियोगितालाई कोरोनाले बिथोलेपछि भर्चुअल प्रतियोगिता आयोजना गर्न लागेका हौं ।
यो प्रतियोगितामा संसारभरका खेलाडीले प्रतिस्पर्धा गर्न पाउँछन् कि ? केही देशकाले मात्र प्रतिस्पर्धा गर्ने हो ?
यो प्रतियोगितामा संसारभरका खेलाडीले प्रतिस्पर्धा गर्न पाउँछन् । हामीले संसारभरकै खेलाडीहरुलाई सहभागी हुन आह्वान पनि गरिरहेका छौं । हामीले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएकाले हामीसँग राम्रो सम्बन्ध भएका राष्ट्रहरुलगायत सबैलाई निमन्त्रणा पठाइसकेका छौं । प्रतियोगितामा दुई सय विदेशी र पाँच सय नेपाली खेलाडीको सहभागिता रहने अपेक्षा गरेका छौं ।
यति धेरै सहभागीको व्यवस्थापन गर्न पनि समस्या होला नि ?
हामीले नौ वटा तौल समूह छुट्याएका छौं । १० वर्षमुनिका खेलाडीदेखि ५० वर्ष माथिका खेलाडीले यी तौल समूहमा प्रतिस्पर्धा गर्न पाउने छन् । सबैको समूह अनुसार व्यवस्थापन गर्दा त्यति धेरै समस्या हुँदैन । योभन्दा धेरै खेलाडीको व्यवस्थापन हामीले यसअघि नै गरिसकेका पनि छौं । त्यही अनुभवले पनि बृहत प्रतियोगिता आयोजना गर्न लागेका हौं ।
आयोजक युनाइटेड तेक्वान्दो डोजाङ नै हो ?
युनाइटेड तेक्वान्दो डोजाङले काठमाडौं इन्टरनेसनल च्याम्पियनसिप आयोजना गर्दै आएको छ । यस पटक युनाइटेड तेक्वान्दो डोजाङसँगै सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्लास्थान तेक्वान्दो डोजाङ मिलेर यो प्रतियोगिता आयोजना गर्दै छौं ।
च्याम्पियनसिपका लागि आवश्यक पर्ने प्राविधिक उपकरणहरु तपाईहरुसँग छ ?
यी सामग्री नेपाल तेक्वान्दो संघसँग छ । केही समय अघि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गरेका कारण नयाँ प्रविधिका उपकरणहरु हामीसँग छ ।
ती उपकरण सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति पनि छ त ?
यो प्रतियोगिता अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको नियम अनुसार नै सञ्चालन गरिन लागेको हो । यस प्रतियोगितामा १३औं सागमा सहभागी प्राविधिक र रेफ्री जर्जले नै सञ्चालन गर्नु हुनेछ ।
च्याम्पियनसिपको तयारी चाहिँ कस्तो भइरहेको छ ?
हामीले तयारी अन्तिम चरणमा पु¥याएका छौं । निरन्तर रुपमा कामहरु भइरहेका छन् । देश विदेशबाट राम्रो प्रतिक्रिया पनि पाइरहेका छौं ।
च्याम्पियनसिप सञ्चालनका लागि कति बजेट लाग्ने अनुमान गर्नु भएको छ ?
पहिले विभिन्न कर्पोरेट हाउसहरुको सहयोगमा प्रतियोगिता सञ्चालन गर्दै आएका थियौं । अहिलेको प्रतिकुल परिस्थितिका कारण प्रायोजन पाउन सक्ने अवस्था देखिएको छैन । त्यसैले विदेशमा रहनु
भएका अग्रज गुरुहरु र साथीभाइलाई सहयोगका लागि आह्वान गरिरहेका छौं । प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । युट्युवमा सबैभन्दा बढी लाइक पाउने भिडियोलाई दुई सय अमेरिकी डलर र च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई एक÷एक सय अमेरिकी डलर पुरस्कार प्रदान गर्ने भएकाले पनि हाम्रो बजेटको दायरा केही बढेको हो । तेक्वान्दोलाई माया गर्ने सम्पूर्ण साथीभाइ र अग्रजहरुको साथ र सहयोग भएमा सब्य र भब्य रुपमा च्याम्पियनसिप आयोजना गर्न हामीलाई कठिनाई हुँदैन ।
अझ महत्वपूर्ण कुरा च्याम्पियनसिपका लागि राम्रै रकम जम्मा भयो भने बाँकी रहेको बजेट कोरोना भाइरसको चपेटामा परेकाहरुका लागि खर्च गर्ने योजना बनाएका छौं ।
केही रकम आयोजक डोजाङहरुले पनि बेहोर्नु पर्ने होला नि ?
सकेसम्म सबै साथीभाइ र अग्रजहरुसँग आग्रह गर्ने हो । त्यसले पनि नपुगेमा आयोजक चार वटै डोजाङले बराबर रुपमा आर्थिक भार बेहोर्नु पर्ने हुन्छ ।
च्याम्पियनसिपका बारेमा अहिलेसम्म कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
देश तथा विदेशका धेरै जनाले हामीलाई हौसला बढाइराख्नु भएको छ । राम्रा राम्रा खेलाडीहरुले पनि सहभागिता जनाइरहेका छन् । यस बाहेक हाम्रा साथीभाइ तथा अग्रजहरुले पनि राम्रो सहयोग गर्ने आश्वासन पनि दिइरहनु भएको छ ।
अन्तिममा केही भन्न चाहनु हुन्छ ?
देशभित्रका सम्पूर्ण खेलाडीलाई यो च्याम्पियनसिपमा सहभागी हुन आग्रह गर्दछु । खेलाडीहरुले अहिलेको विषम परिस्थितिमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव हासिल गर्न सक्ने छन् । त्यसैले बढीभन्दा बढी सहभागिता जनाएर यो च्याम्पियनसिपलाई सफल बनाइदिनका लागि अनुरोध गर्दछु । साथै अहिलेको विषम परिस्थितिमा सबै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई स्वस्थ्य र सुरक्षित रहन आग्रह गर्दछु ।